Aamsanchar

धुलोले जनजीवन प्रभावित

Author Image
मङ्गलवार, कार्तिक २८, २०७४

भद्रपुर।

दक्षिणी झापाका जनताले निर्माणाधीन सडकहरुमा उड्ने धुलोले जनजीवनलाई निकै प्रभावित पारिरहेको गुनासो गरेका छन् ।

झापाको भद्रपुर नगरपालिका क्षेत्र लगायत भद्रपुरले जोड्ने हुलाकी राजमार्ग अन्तर्गतका दुई ठूला सडक निर्माण योजनाको सन्दर्भमा भद्रपुर नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सडक उपभोक्ताहरुले त्यस्तो गुनासो गरेका हुन् ।

स्थानीय नागरिक एफएमले सहजीकरण गरेको सार्वजनिक सुनवाईमा हुलाकी सडक सम्बन्धमा परियोजनाका प्रमुख शैलेन्द्र त्रिपाठी, इञ्जिनियर उपेन्द्र दास र सम्बन्धित निर्माण व्यवसायीहरुले जवाफ दिएका थिए ।

ती सडकका उपभोक्ताले सडकको धुलो र प्रदुषणका कारण सडक आसपासका वासिन्दामा श्वासप्रश्वास सम्बन्धी समस्या, रुघा–खोकी, ज्वरोको समस्या बढ्दै गएकोले निर्माण कार्य चाँडो सम्पन्न गर्न आग्रह गरे । उनीहरुले निर्माण कार्य चलिरहँदा धुलो कम गर्न सडकमा पानी हाल्न पनि आग्रह गरे । इञ्जिनियर दासले झापाचोक दक्षिण सडकका सबै अवरोध हटिसकेकोले त्यता चारआली–केचना सडक अन्तर्गतको निर्माण कार्य द्रूत गतिमा भइरहेको र झापाचोकदेखि चन्द्रगढीसम्म विद्युत्, टेलिफोनका पोलहरु हटिनसकेको, खानेपानीको भूमिगत पाइपलाइन सारिनसकेको, सडक क्षेत्रभित्रका भौतिक संरचना हटाउने सन्दर्भमा मुआब्जाको विषय किनारा लागि नसकेकोले समस्या रहेको बताएका थिए ।

उनले सडकमा पानी हाल्ने कुरा सम्झौतामा नभए पनि जनताको कठिनाइ बुझेर निर्माण व्यवसायीले धुलो कम गर्न समय–समयमा पानी हाल्ने गरेको उल्लेख गरे । उनले चारआली–सोमबारेसम्मको सडक र झापाचोक–राजगढ सडकमा ३० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

यसैगरी, भद्रपुरका नागरिकले भद्रपुर क्षेत्रमा सघन शहरी विकास कार्यक्रममार्फत भइरहेका सडक तथा ढल निर्माणका योजनाहरुको प्रगति माग गरेका थिए । भवन निर्माण विभागले भद्रपुरका सडक तथा ढल निर्माणका डेढ दर्जन योजना अघि बढाएको छ । तर, यी योजनाका सबैखाले प्रगति बारे नगरपालिका नै बेखबरजस्तो रहेको भन्दै कार्यक्रमका अध्यक्ष भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले योजनाहरुका बारे नगरपालिकालाई निरन्तर जानकारी दिन आग्रह गरे । ‘नागरिकले उठाएको सवालको जवाफ हामीले दिनुपर्छ’– उनले भने– ‘तर के भइरहेको छ भन्ने हामीलाई नै थाह हुँदैन ।’

प्रतिवर्ष ५० करोड खर्च हुने गरी चार वर्षका लागि दुई सय करोडको योजना भद्रपुरमा छनोट भइसकेका छन् र अधिकांश योजना सञ्चालनमा आइसकेका छन् । तर, सर्वपक्षीय निर्णयबाट पठाइएका कतिपय योजना काटिएका र निर्णय नभएका योजना रोखिएकोमा पनि नगरवासीले आपत्ति जनाएका थिए ।
सघन शहरी विकास योजनाका बारे उठेका प्रश्नको जवाफ सघन शहरी विकास तथा भवन निर्माण विभाग चन्द्रगढी फिल्ड कार्यालयका इञ्जिनियर सुमन मिश्रले जवाफ दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर