Aamsanchar

कर कार्यालयका कर्मचारी र स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले मंसिर २ गते विर्तामोडका व्यापारीलाई भेटेरै कर शिक्षा दिने

Author Image
बुधवार, कार्तिक २९, २०७४

बिर्तामोड, कात्तिक २९। मंसीर १ गतेदेखि ७ गतेसम्म मनाइँदै आएको राष्ट्रिय कर दिवस यस बर्ष झापामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
मेची अञ्चलका कर दातालाई लक्षित गर्दै आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले कर सप्ताह मनाउन लागेको हो । २०६९ सालदेखि प्रत्येक बर्ष मनाइँदै आएको यो दिवस हाम्रो पौरख, हाम्रो कर–राष्ट्रिय निर्माणको दीगो भर भन्ने मूल नाराका साथ मनाउन लागेको प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए । बिर्तामोडस्थित बाणिज्य संघको सभाहलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै छैठौं राष्ट्रिय कर दिवस बिर्तामोडबाट उद्घाटन गरेर मेची अञ्चलका विभिन्न स्थानमा कार्यक्रमसहित सम्पन्न गर्ने जानकारी दिइयो ।

बिर्तामोड उद्योग वाणिज्य संघको समन्वयमा मनाउन लागेको कर दिवस, वस्तुगत संघ–संगठन, सरकारी निकायका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी, गैर सरकारी संस्था, झापास्थित स्थानीय निकाय अर्थात् नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष, शैक्षिक संस्था, सहकारी संघ–संस्था लगायतको संघ–संस्थाको संयुक्त सहभागितामा गर्न लागिएको बताइएको छ । विहान ५ बजेदेखि प्रभातफेरिसहित बिर्तामोडस्थित अनुमान सेन्ट्रल कम्प्लेक्स अगाडि कर सप्ताहको उद्घाटन गरिने जानकारी दिइयो । मंसीर २ गते व्यवसायीलाई घर–घरमै गएर व्यवसायिक घरदैलो कर शिक्षा प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै मंसीर ३ गते इलामको देउमाई नगरपालिकामा टीडीएस अनलाइन सम्बन्धी कार्यक्रम र मेची सहकारी संस्थाको हल दमकमा पनि सोही कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो । मंसीर ४ गते मेची अञ्चलभरिका विभिन्न उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका कार्यालय सचिवलाई चन्द्रगढीस्थित कार्यालयमा तालिम दिइने जानकारी दिइयो । मंसीर ५ गते कर दाता सेवा कार्यालय दमकको संयोजनमा शिवगञ्ज बजारमा आयविवरण संकलन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, उद्योग वाणिज्य संघ सुरुङ्गाको समन्वयमा कारोबार स्थलमा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

त्यस्तै मंसीर ६ गते प्याब्सन झापाको समन्वयमा झापा जिल्लास्थित मावि स्तरीय वक्तृत्वकला प्रतिोगिता सम्पन्न गर्ने र मंसीर ७ गते उत्कृष्ट करदातार, कर्मचारीलाई पुरस्कार तथा सम्मान गर्ने र तालिममा सहभागीलाई प्रमाणपत्र वितरणसहित कर सप्ताह सम्पन्न गर्ने जानकारी दिइएको छ । आन्तरिक राजश्व कार्यालय मेचीमा झण्डै ८० हजार करदाता रहेको पत्रकार सम्मेलनमा प्रमुख कर अधिकृत आचार्यले बताए । उनले ५४ हजार २ सय ६१ कर दाताले नियमित विवरण पेश गर्ने र व्यक्तिगत आय कर करदाता २३ हजार रहेको बताए । चालू आर्थिक बर्षको तीन महिनामा ४७ करोडको लक्ष्य राखेकोमा लक्ष्यभन्दा ९ करोड बढी कर संकलन गरिसकेको प्रमुख कर अधिकृत आचार्यले बताए ।

कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कर सप्ताह सफल पार्न आम उद्योगी व्यवसायीले सहयोग पु¥याउने भन्दै सञ्चारकर्मीहरुलाई पनि कर सप्ताह सम्पन्न गर्न सहयोग पु¥याइदिन अनुरोध गरे । कार्यक्रममा कर अधिकृत छवि भट्टराई र पेसल न्यौपानेले पत्रकारले उठाएका जिज्ञासाका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी भेषराजले गरेका थिए ।

 

Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर