बिर्तामोड।

मेची आँखा अस्पताल बिर्तामोड झापाले २२ लाख आँखाको रोगीलाई सेवा दिएको छ । अस्पतालले दुई लाख ५६ हजार आँखा रोगीको सफल शल्यक्रिया गरेको अस्पतालका प्रशासकीय अधिकृत सुरजकुमार रौनियारले जानकारी दिए । अस्पतालको २१आंै बार्षिक उत्सव समारोहमा अस्पताल स्थापनादेखि हालसम्म बहिरंग विभागमा एक लाख ३७ हजार सात सय ३८ जना बिरामीको नेत्र परीक्षण गरिएको जानकारी दिइयो । जसमा ७७ हजार तीन सय १३ पुरुष र ६० हजार ४ सय २२ जना महिला छन् भने १५ जना एक सय ९९ जना बालबालिका छन् ।

शल्यक्रिया गरिएका २१ हजार विरामी मध्ये ७० प्रतिशत मोतियाविन्दु रहेको जानकारी दिइयो । यो बाहेक जलविन्दु, रेटिना, टेडो आँखा, बाहिरी भागको शल्यक्रिया गरेको बताइएको छ । अस्पतालले सामुदायिक कार्यक्रम शिविर र शल्यक्रिया शिविर एवम् विद्यालयमा आँखा जाँच, स्वास्थ्य शिक्षा, प्रदर्शनी लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिइयो । हाल शाखाको रुपमा बनियानी, राजगढ, गौरादह, फिदिम, पाथीभरा नेत्रालय दमकमा अस्पतालले दैनिक सेवा दिँदै आएको बताइएको छ ।
बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ३का वडा अध्यक्ष भोजराज सिटौला, ज्येष्ठ नागरिक संघ झापाका प्रतिनिनिधि ईश्वरी तिमल्सिना, नेपाल रेडक्रस सोसाइटी झापाका हेमन्त राज दवाडी लगायतले मन्तव्य राखेका थिए ।

मेची आँखा अस्पताल संघका अध्यक्ष दिनेशकुमार मित्तलको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सवमा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेत्रहीन सुमन थापामगरले आफ्नै रचना र संगीतमा गीत गाएका थिए । । मेमलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुरज वंशलले गरेका थिए ।
यसैबीच बार्षिक उत्सवको अवसर पारेर आन्तरिक महिला तथा पुरुष फुटबल, भलिबल, क्रिकेट लगायत बिभिन्न प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा डा. पवन महतको टिम प्रथम भएको थियो । महिला फुटबलमा कविता कार्की कँडरियाको टिम प्रथम भएको थियो भने दोस्रो नन्दी लिम्बूको टिम भएको थियो ।
पुरुष भलिबलतर्फ मनिष विकको टिम प्रथम भएको थियो भने दोस्रो श्रवण श्रद्धाको टिम भएको थियो । महिला भलिबलतर्फ प्रथम नन्दी लिम्बूको टिम भएको थियो भने दोस्रो कविता कार्कीको टिम भएको थियो । क्रिकेटतर्फ डा. युजन सापकोटाको टिम प्रथम भयो भने दोस्रो श्रवण सरदारको टिम भयो । टेबल टेनिस सिंगलतर्फ रिंगल सुवाल, दोस्रो डा. युजन सापकोटा घोषित भए ।
त्यस्तै टेबल टेनिस डबलतर्फ प्रथम रिंगल र डा. पवन महत घोषित भए भने दोस्रो युजन र डा. प्रनव घोषित भए । बुद्धिचालतर्फ प्रथममा सन्तोषलाभ कर्ण, दोस्रो उद्धव भट्टराई, तस्रो डा. पुरुषोत्तम जोशी भए । निबन्धतर्फ अनुजा ढकाल प्रथम र दोस्रो अनु बोहोरा भए । १०० मिटर दौडतर्फ प्रथम नन्दी लिम्बू, दोस्रो निशा संग्रौला भए । ६०० मिटर दौडतर्फ प्रथम श्रवण सरदार, पवन महतो दोस्रो भए ।
त्यस्तै चम्चा चौडतर्फ प्रथम नन्दी लिम्बू, दोस्रो ममता रसाइली, तातो आलुतर्फ प्रथम सन्तोषलाल कर्ण, दोस्रो ममता रसाइली, तेस्रो अनु बोहोरा भए । बोरा दौडतर्फ प्रथम अनु बोहोरा, दोस्रो नन्दी लिम्बू भए । पुरुष व्याडमिन्टनतर्फ डा. पवन महत प्रथम र डा. युजन सापकोटा दोस्रो भए । दोस्रो व्याडमिन्टनतर्फ कविता कार्की र दोस्रो डा. जेनु सेन्जु घोषित भए ।
पुरस्कार बितरण कार्यक्रमको सञ्चालन युवराज बोहोराले गरेका थिए । यसअघि चार सय विरामीलाई अस्पतालले फलफूल समेत वितरण गरेको थियो ।

