Aamsanchar

होटल, मिठाइ पसल र रेष्टुरेन्टको पनि ग्रेडिङ !

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

दमक।

झापाको दमकमा रहेका होटल, रेष्टुरेन्ट र मिठाइ पसलहरुको सरसफाई र गुणस्तरको आधारमा स्तर निर्धारण हुने भएको छ । स्तर निर्धारण भए पछि उपभोक्ताले स्तर हेरेर राम्रो तथा नराम्रो थाहा पाउने बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, दमक नगरपालिका र होटल व्यवसायी संघ क्षेत्रीय समितिले होटल अनुसारको स्टीकर टाँस गर्ने भएका छन् । यसको तयारी स्वरुप होटल व्यवसायीहरुलाई तालिम समेत प्रदान भएको होटल व्यवसायी संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले बताए । उनका अनुसार होटल, रेष्टुरेन्ट तथा मिठाइ पसलहरुले सरसफाईमा ध्यान नदिए त्यसको जवाफदेही संघ नहुने बताए । त्यस्ता पसलहरु अनुगमनपछि बन्द गरिएमा समेत आफूहरु सहमत रहेको जनाए ।

यस बिषयमा तालिम लिएका होटल व्यवसायीहरुलाई प्रमाणपत्र बितरण कार्यक्रममा बोल्दै खाद्य निरीक्षक दिनेश ढुगांनाले होटल, रेष्टुरेन्ट र मिठाइ पसलहरुलाइ ४ वटा स्तरमा छुट्याइने बताए । पूर्ण रुपमा सरसफाई भएको र गुणस्तर कायम भएकालेलाई अति उत्तम भएको, स्टीकर सबै उपभोक्ताले देखिने गरी टाँस गरिनेछ ।

त्यसपछि उत्तम, सन्तोषजनक र सामान्य गरेर चार प्रकारको स्टीकरहरु टाँस गरिने ढुंगानाले बताए । यो सबै उपभोक्ताहरुले देखिने गरी टाँस गरिने जनाईएको छ । यसमा सबैभन्दा ठूलो मापदण्ड सरसफाइको अवस्थालाई बनाइने जनाइन्छ ।

किचनदेखि लिएर शौचालयसम्मको सरसफाईमा यसमा पर्नेछ । होटल व्यवसायी संघ क्षेत्रीय सचिब सुधिर प्रधानका अनुसार यसबाट अब होटलहरुलाई सरसफाई गर्नका लागि दबाब पुग्नेछ । उपभोक्ताहरुले समेत सफा खाद्य सामग्री खान पाउनेछन् ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर