Aamsanchar

बिर्तामोडमा कुकुरको बन्ध्याकरण

Author Image
बिहिवार, कार्तिक ३०, २०७४

बिर्तामोड।

सडकका भुस्याहा कुकुर नियन्त्रण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले बुधबारदेखि भुस्याहा कुकुर बन्ध्याकरण कार्यक्रम शुरु गरेको छ ।

बिर्तामोड नगरपालिका कार्यालय पशुसेवा शाखाको आयोजना तथा पोखराको हार्ट नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा रेविज रोग नियन्त्रण तथा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

हार्ट नेपालका निर्देशक खगेश्वर भट्टराईको नेतृत्वमा १३ सदस्यीय टोलीले आगामी मंसिर ५ गतेसम्म भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने बताइएको छ । शिविरमा बिर्तामोडका २ सयवटा कुकुर बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बास्तोलाले जानकारी दिए ।

टोलीले सडकमा भेटिने छाउरी कुकुर नियन्त्रणमा लिएर बेहोस बनाएर शल्यक्रियामार्फत पाठेघर निकाल्ने गरेको छ । बिर्तामोडमा भूस्याहा कुकुरले पशुचौपायालाई टोकेर रेविज रोग फैलिन थालेपछि नगरपालिकाले कुकुर नियन्त्रण गर्न यस्तो तरिका अपनाएको हो । बिर्तामोड नगरपालिकाले हरेक वर्ष कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

हार्ट नेपालले यसअघि झापाको अर्जुनधारा र कन्काई नगरपालिकामा भूस्याहा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अर्जुनधारामा २ सय २१ र कनकाईमा २ सय ६ वटा कुकुरको बन्ध्याकरण गरिएको हार्ट नेपालका निर्देशक भट्टराईले जानकारी दिए ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर