Aamsanchar

पाँच वर्षका लागि स्थायित्वसहितको वाम गठबन्धनको सरकार बन्ने विश्वास

Author Image
शुक्रवार, मंसिर १, २०७४

काठमाडौँ,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नै वाम गठबन्धन बनेकाले कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता दाहालले भन्नुभयो, “मुलुक र जनताको हितका लागि निर्माण भएको गठबन्धन कोही कसैको विरुद्ध लक्षित छैन, विचार मिल्ने एकै ठाउँमा बस्न सक्छन् र सक्नु पनि पर्छ ।”

पूर्वप्रधानमन्त्री दाहालले पटक पटक बदलिने सरकारका कारण जनता आहत छन् भन्दै अब पाँच वर्षका लागि राजनीतिक स्थायित्वसहितको वाम गठबन्धनको सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको निर्माणपछि देशैभरि नयाँ उत्साह पैदा भएको छ, नेता कार्यकर्तामा नयाँ जोश भरिएको छ । जनस्तरमा समेत वाम शक्तिप्रति नयाँ खालको विश्वास पैदा भएको छ ।”

नेकपा (एमाले) र आफ्नो पार्टीबीच सहकार्य र एकताको प्रक्रिया शुरु भएका कारण पहिलो पटक मुलुकमा राजनीतिक स्थायित्व कायम हुन लागेको उहाँको धारणा थियो ।

कार्यक्रममा नेकपा र नयाँ शक्ति नेपाल पार्टीका केही नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नयाँ शक्तिका नेता प्रकाश विकल्पको नेतृत्वमा ५३८ र नेकपाका १०० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर