नेत्र बिक्रम बिमली 

झापा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं झापा ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजाका झोला बोक्नेलाई मत नदिन आह्वान गरेका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्दै सिटौलाले एमाले र माओवादी केन्द्रका उम्मेदवार नभएकाले सबैले कांग्रेस उम्मेदवारलाई जिताउनुपर्ने भनाइ राखे ।

उनले राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उनी राजाको झोला बोक्ने मानिस मात्र भएकाले परिवर्तनकारी दल र तिनका उम्मेदवारलाई जिताए मात्र झापाले विकासमा फड्को मार्ने बताए । ‘यहाँ एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएको छैन, अब तपाईहरूले राजाको झोला बोक्ने व्यक्तिलाई मत दिने कि गणतन्त्र स्थापना गर्ने र संविधान दिने व्यक्तिलाई मत दिने भन्ने निर्णय गर्ने बेला आएको छ,’ सिटौलाले भने, ‘२५ वर्षदेखि मैले यहाँबाट राजनीति गर्दै आएको छु, कहिल्यै विवादमा परेको छैन ।
बोलेको सबै काम पूरा गरेको छु । अझै पनि धेरै काम गर्न बाँकी रहेकाले तपाईहरूले मलाई जिताएरै पठाउनु पर्छ ।’ राप्रपाप्रति निकै आक्रमण रूपमा प्रस्तुत भएका सिटौलालाई हेर्न र उनको कुरा सुन्न आदिवासी जनजाति समुदायको बाक्लो उपस्थित रहेको थियोे । जनआन्दोलनको सहयात्रीलाई भोट दिने कि राजाको भूतलाई भन्दै उनले एमाले र माओवादी मतदाताले राम थापा, सुरज विश्वास, राजन गिरीको हत्यारालाई भोट दिनु हुन्छ भनी प्रश्नसमेत गरेका थिए । आफू कांग्रेसको मतले मात्र विजय नहुने हुँदा गणतन्त्रवादीहरूको विश्वास लिन र दिन नै उम्मेदवार भएको भन्दै मिलेर काम गर्ने बताए । संघीयताका हिमायती एमाले र माओवादीले राजाको भूतलाई जरैदेखि उखेलेर फाल्नुपर्ने यो अन्तिम लडाइँ भएको भन्दै नेता सिटौलाले राजा ज्ञानेन्द्र नै आफूसँग चुनाव लडेको भए जनताले तह लगाइदिने दाबी गरे ।


