झापा,
कुनै पनि काम गर्न उमेरले छेक्दैन भन्ने उखानलाई चरितार्थ गरेका छन् चरित्र अभिनेता तथा रंगकर्मी टीका पहारीले । ६८ वर्षीय पहारीले चलचित्र तथा रंगमञ्चमा अझै पनि दमदार रुपमा आफ्नो प्रस्तुति प्रस्तुत गरिरहेका छन् ।
नवलपरासीका पहारीले २०३३ सालमा काठमाडौंमा पहिलोपटक ‘एक घटना’ नामक नाटकमा अभिनय गरी अभिनयको श्रीगणेश गरेका हुन् । उनी ४१ वर्षपछि पनि रंगमञ्चमा उत्तिकै सक्रिय भए नाटक ‘लाटीको छोरो’ मार्फत् ।
श्याम साहको कथामा आधारित नाटक ‘लाटीको छोरो’ मा उनी विश्वनाथ बाबुको भूमिकामा देखिएका छन् । उक्त नाटकमा उनले गरेको अभिनय तन्नेरी ठिटोले गरेको अभिनयभन्दा कम छैन । झापाको बिर्तामोडस्थित अतिथि सदनमा हालै मञ्चन भएको नाटक ‘लाटीको छोरो’मा अभिनय गर्दैगर्दा भेटिएका उनले भने– ‘नाटकमा अभिनय गर्दा म आफूलाई ३१–३२ वर्षको ठिटो ठानिरहेको हुन्छु । ऐनामा हेर्दामात्र मलाई आफू बुढो भएको महशुस हुन्छ ।’
आफूलाई छोराहरु सुलभ पहारी र गौरव पहारीले नयाँ उर्जा थपेर पुनः रंगमञ्चमै फर्काएको उनले बताए । उनले लाटीका छोराका निर्माण परिकल्पनाकार प्रकाश दाहालसँग छोराहरुको चिनजान रहेको र उनीहरुकै आग्रहमा आफूले नाटकमा अभिनय गरेको बताए । झापाको बिर्तामोडमा मञ्चन भएको नाटक ‘लाटीको छोरो’मा झापाली दर्शकको उत्साहले गर्दा आफू रंगमञ्चमा लाग्न पुनः उत्साहित भएको उनले बताए । क्षितिज नाट्य समूहको अगुवाईमा बृहत सांस्कृतिक संग्रहालयसहितको झापा थिएटर निर्माण गर्ने उद्देश्यले झापामा ‘लाटीको छोरो’ मञ्चन गरिएको र त्यसलाई सफल बनाउन आफूले पनि सहयोग गर्ने उनले बताए ।
नेपाली नाटकमा अभिनय गरे लगत्तै भारत गएर भारतको पुनास्थित फिल्म इन्स्टिच्युट अफ इण्डियामा अभिनयबारे अध्ययन गरेको उनी बताउँछन् । २०३८ सालमा भारतको मुम्बईमा ‘एक और द्रोणाचार्य’ नामक हिन्दी नाटकमा अभिनय गरेको र त्यसपछि मुम्बईको अल इण्डिया थिएटर एसोसियसन नामक संस्थामा आबद्ध भएर १२÷१३ वटा नाटकमा अभिनय गरेको उनी बताउँछन् ।
भारतमा अभिनय पढेर नेपाल आएपछि २०३८ सालमा ‘बदलिँदो आकाश’मा अभिनय गरी अभिनयको शुरुवात गरेको बताउँछन् । उनले त्यसपछि दर्पण छायाँ, भिष्म प्रतिज्ञा, युगदेखि युगसम्म, विजय पराजय, चट्याङ, बादल, सम्झना लगायतका फिल्ममा चरित्र अभिनेता र खलनायकको रूपमा अभिनय गरेर आफ्नो दरिलो अभिनय क्षमता प्रस्तुत गरे । पछिल्लो समय उनले बाटोमुनिको फूल–२, फागु, आधा लब, २ रुपैयाँ, छक्का पञ्जाजस्ता फिल्ममा अभिनय गर्दै आफूलाई अब्बल साबित गरिसकेका छन् ।
पछिल्लो समय अभिनयबाट सन्तुष्टि नभएपछि पुनः रंगमञ्चमै फर्किएको उनी बताउँछन् । पहिले समय अभावका कारण रंगमञ्चबाट टाढा हुनुपरेको बताउँदै उनले ‘लाटीको छोरो’ नाटकको कथावस्तु राम्रो भएकोले पुनः ४१ वर्षपछि रंगमञ्चमा फर्किएको बताए । उनी समय मिले र राम्रो कथावस्तुको नाटक भए रंगकर्मलाई निरन्तरता दिइरहने बताउँछन् । आफूलाई समयले नाटकबाट फिल्म र फिल्मबाट नाटकमा ल्याउने गरेकोले यही समयकै कारण आफू लामो समयपछि रंगमञ्चमा आएको बताए । आफू जीवनको अन्तिम समयसम्म पनि रंगमञ्चमा लागीरहने उनले बताए ।
फिल्मभन्दा रंगमञ्चमा अभिनय गर्नुको आनन्द बेग्लै रहेको बताउने पहारी रंगमञ्चमा काम गर्दा अनस्पट रिजल्ट आउने र दर्शकको प्रतिक्रिया तुरुन्तै पाउने बताउँछन् । नाटकमा दर्शकहरुको अघि प्रत्यक्ष अभिनय भएको हुँदा र नाटक शुरु भएदेखि अन्त्य नहुञ्जेलसम्म अभिनय गर्दा आनन्द आउने तर, फिल्ममा एउटै सिनका लागि धेरै समय लाग्ने भएकोले आफूले कस्तो अभिनय गरेको रहेछु भन्ने फिल्म चलचित्र हलमा प्रदर्शन भएर दर्शकको प्रतिक्रिया नआउञ्जेलसम्म कुर्नुपर्ने उनले बताए ।
पहिलेको भन्दा अहिले नेपाली फिल्ममा प्राविधिक क्षेत्रमा उल्लेख्यरूपमा परिवर्तन आए पनि सोच भने समय सापेक्ष नभएको उनले बताए । पहिले फिल्म निर्माण गर्दा प्राविधिक कारणले नै धेरै आर्थिक भार पथ्र्यो । भने जस्तो सुविधा पनि थिएन तर अहिले प्रविधिमा सरलीकरण हुँदा पनि त्यसको फाइदा उठाउन फिल्मकर्मीले सकिनरहेको उनले बताए । अहिले पनि विदेशी फिल्मको नक्कल गर्ने प्रचलन बढेको बताउँदै उनले फिल्मको कथामा नेपालीपन झल्काउनुपर्ने बताए ।
नेपाली फिल्मको छायांकन काठमाडौं केन्द्रीत मात्र भएकोले काठमाडौंदेखि बाहेक पनि अन्य स्थानमा राम्रा–राम्रा दृश्यहरु भएकोले त्यसलाई समेत समेट्नुपर्ने र फिल्ममा नेपालीपन झल्काउनुपर्ने उनले बताए । यस क्षेत्रमा लागेर आफूले सन्तुष्टि पाएको र अन्तिम अवस्थासम्म पनि रंगमञ्चमा अभिनय गरिरहने उनले बताए ।
प्रस्तुति : तुलसीप्रसाद निरौला