बागलुङ।
चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेको बेला बम प्रहार भएको हो ।
नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । सोही स्थानमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेका थिए ।
आज भएको बम विस्फोटमा संलग्नको पहिचान नभए पनि विप्लव समूहले नै गरेको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्नको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
गएराति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा पनि बम विस्फोट गराइएको थियो ।