Aamsanchar

सडनडेथमा मनाङ भाग्यमानी

Author Image
शनिवार, मंसिर ९, २०७४

काँकरभिट्टा ।

गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङ मस्याङ्दी क्लब काठमाडौँ सडन डेथका आधारमा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिवार काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित समयभित्र गोलरहित बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
जितका लागि मनाङका अनिल गुरुङ, विमल राना, बिमल बस्नेत, हेमन गुरुङ, डोना थापा, विक्रम लामा, दिनेश थापाले गोल गरेका थिए । रुपेन्देहीका निरज बस्नेत, रजिन धिमाल, रुपेश केसी, दिपक राई, दिलिप क्षेत्री, विजय धिमालले पनि गोल गरे । तर, सडन डेथमा सौरभ मगरले हानेको प्रहारमा मनाङका गोलरक्षक दिनेश थापा बाधक बनेपछि रुपन्देहीको सेमीफाइनल पुग्ने यात्रा समाप्त भएको थियो ।

त्यसअघि खेलको ११ औँ मिनेटमा रुपन्देहीका रजिन धिमालको क्रसमा विदेशी खेलाडी आवाले गोल गर्न सकेनन् । १२ औँ मिनेटमा मनाङका विमल घर्ती मगरले हानेको हेडरले जाली चुमे पनि अफसाइड भएका कारण स्कोर हुन सकेन । ४१ औँ मिनेटमा मनाङका विशाल राईले हानेको प्रहारले पनि गोलपोष्टको दिशा लिन सकेन । पहिलो हाफमा गोलरहित बराबरीमा खेल सकिएको थियो ।

खेलको ५० औँ मिनेटमा मनाङका स्टाइकर विमल घर्तीमगरले हानेको प्रहारमा विपक्षी गोलरक्षक दिलिप क्षेत्री बाधक बनेका थिए । सुजल श्रेष्ठ, अनिल गुरुङ, हेमन गुरुङ, विशाल राई, अञ्जन तामाङले हानेको प्रहार गोलमा परिणत हुन नसक्दा मनाङले निर्धारित समयमा कुनै पनि स्कोर गर्न सकेन । रुपन्देहीका विदेशी खेलाडी आवाले पाएका थुप्रै अवसर पनि खेर गए । रजिन धिमाल, विजय धिमाल र सौरभ मगरको प्रहार पनि खेर गएपछि रुपन्देही सेमीफाइनलको यात्रा समाप्त भएको हो । उनीहरुका हरेक प्रहारमा मनाङका डिफेन्स अनन्त तामाङ, सुजल श्रेष्ठ र गोलरक्षक दिनेश थापा बाधक बनेका थिए ।

आइतवारको खेल सुदुर पश्चिम ११ र त्रिभूवन आर्मीबिच हुने आयोजक समितिले जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताका विजेता टिमले नगद ८ लाख १ हजार र उपविजेता टिमले नगद ४ लाख १ हजारसहित शिल्ड, ट्रर्फी प्रमाण प्रत्र प्राप्त गर्ने अध्यक्ष मिन बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर