Aamsanchar

उम्मेद्वारलाई मजदुरको ज्ञापनपत्र

Author Image
आइतवार, मंसिर १०, २०७४

काँकरभिट्टा,

वाम गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका उम्मेद्वार राम कार्कीले वामपन्थीको नेतृत्वमा बहुमतीय सरकार नभएसम्म किसान, मजदुरको हक अधिकार स्थापित नहुने दावी गरेका छन् ।

वाम गठबन्धनमा आवद्ध निर्माण एवम् ढुवानी मजदुर संगठन काँकरभिट्टा इकाईद्धारा आइतबार काँकरभिट्टामा आयोजित चुनावी कार्यक्रममा बोल्दै पूर्व सूचना तथा सञ्चार मन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रहेका उनले यस्तो दावी गरेका हुन् ।

मजदूरले झेल्नुपरेका समस्या बारे म जानकार छु,’ कार्यक्रमका प्रमुख अतिथि कार्कीले भने—‘त्यसैले मजदूरको राज्य सत्ता ल्याउन कम्युनिस्ट सरकार आवश्यक छ ।’‘सवारी चालक हुन एसएलसी प्रमाण पत्रको नियम बनाइन्छ,’ उनले भने–‘यो वैज्ञानिक छैन, त्यो नीति खारेज गरिन्छ, सेवा अवधि, अनुभवका आधारमा चालक परिचय पत्र दिइनुपर्छ ।’

चिया मजदूरले भोग्दै आएका ज्याला, सेवा सुविधालगायतका समस्या स्थायी रुपमा समाधान गर्न कम्युनिस्ट सरकार बन्नै पर्ने उनको भनाई थियो ।
कार्यक्रममा गठबन्धनकातर्फबाट क्षेत्र नम्बर १ को प्रदेश सभा २ का उम्मेद्वार श्रीप्रसाद मैनालीले कम्युनिस्टको वर्चश्व भए पनि विभाजित भएकै कारण दुई तिहाई बहुमतको सरकार बन्न नसकेको बताए ।

‘यस पटक तपाईंहरु हाम्रा लागि, गठबन्धनका लागि १० दिन खट्नुस्, ‘मैनालीले भने– ‘हामी तपाईंहरुका लागि ५ वर्ष खट्नेछौं ।’
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदूर संगठन काँकरभिट्टा इकाईका अध्यक्ष खडानन्द भण्डारीले गणितीय आधारमा गठबन्धनको जित भइसककेको तर, ढुक्क हुने अवस्था भने नरहेको बताए  ‘मत गरीबका झुपडीमा हुन्छ, चुनावी अभियान शहरभन्दा गाउँ केन्द्रीत बन्न जरुरी छ,’ उनले भने– ‘अब सर्वहाराको शासन आउनुपर्छ, वामपन्थी सरकार भाषणमा मात्रै सिमित राख्नु हुँदैन् ।’

‘यस क्षेत्रमा कम्युनिस्टको दुई तिहाई बहुमत छ, कहिले काहिँ खहरे खोला आउँछ, अनि चुनाव हारिन्छ, मजदूर नेता विनोद गिरीले भने–‘यस क्षेत्रमा पनि कम्युनिस्टले चुनाव हार्यो देशको हार हुन्छ ।’सो अवसरमा गठबन्धनमा आवद्ध संयुक्त मजदूर संगठन १ नम्बर क्षेत्रीय कमिटीले प्रतिनिधि सभाका उम्मेद्वार कार्कीलाई मजदूर हक हित सम्बन्धि विभिन्न समस्या समेटिएको पत्र बुझाएका थिए ।

कार्यक्रममा गठबन्धनकातर्फबाट प्रदेश सभा दुईका उम्मेद्वार गोपाल बुढाथोकी, समानुपातिक उम्मेद्वार धर्मशिला चापागाईं, कुमारी मेचे, निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईं, पूर्व साँसद् रविन कोइरालालगायतको उपस्थिति रहेको थियो ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर