Aamsanchar

झापामा उधौली पर्व मनाइयो

Author Image
आइतवार, मंसिर १७, २०७४

बिर्तामोड,

झापा बिर्तामोडका किरात समुदायले उधौली पर्ब हर्षोउल्लासका साथ मनाएका छन् । किरात राइ यायोख्खा बिर्तामोड प्रारम्भिक समिति र किरात थाक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडको संयुक्त आयोजनामा सामुहिक पुजा गरि उधौली पर्ब मनाइएको हो ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्राएको खुशीयालीमा मनाइने चलन छ । प्रकृति–पूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा किराँत समुदायले यो पर्व मनाउने गरेका छन् ।

बिर्तामोड–५ स्थित किरात राइ यायोख्खाको कार्यालय परिषरमा आयोजित कार्यक्रममा धान नाच, पालम, साकेलाशिली प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा सहभागिहरु आ–आफ्नो जातिय पहिरनमा सजिएका थिए । सोही कार्यक्रममा याक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडले संस्थालाई सहयोग पुर्याउने बिभिन्न सामाजिक ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

२०७४ सालको तीहारमा खेलिएको देउसी÷भैलोमा सहयोग पुर्याउने १४ जना सहयोगी दाताहरुलाई फुल, माला र सम्मानपत्रले सम्मान गरिएको हो । यस्तै, चुम्लुङको कार्यालय संचालनमा सहयोग पुर्याएको भन्दै किरात याक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडका आजिवन सदस्य चुडामणी तुम्वाहाम्फे र समाजिक ब्यक्तित्व गणेस कन्दङवालाई समेत सम्मान–पत्र सहित सम्मान गरिएको छ ।

किरात याक्थुम चुम्लुङ नगर शाखा बिर्तामोडका अध्यक्ष धर्म लक्सम्वाको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथी किरात याक्थुम चुम्लुङका केन्द्रिय सदस्य राधा सुब्बा रहनुभएको थियो । नगर समिति बिर्तामोडका उपाध्यक्ष गोमादेबि चोङवाङले स्वागत गरेको कार्यक्रमको संचालन नगर सचिब दिपक मेन्याङवोले गर्नुभएको थियो । यस्तै, किरात सुनुवार सेवा समिति अर्जुनधाराले पनि उधौली पर्व मनाएको छ ।

अर्जुनधारा–११ स्थित नमुना सामुदायिक बन उपभोक्ता समुहको परिषरमा रहेको किरात सुनुवार जातिको चण्डिथानमा सुनुवार समुदायले सामुहिक पुजा गरेका थिए । सो कार्यक्रममा बिभिन्न खेलको आयोजना समेत गरिएको थियो । हाजिरी–जवाफ, म्युजिकल चियर, बेलुन फुटाउने, डोरी तान्ने र हण्डिफोर प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको बिजेतालाई मुखिया प्रोडक्सन हाउस बिर्तामोडले पुरस्कार उपलब्ध गराएको थियो ।

किरात सुनुवार सेवा समिति अर्जुनधाराका अध्यक्ष भक्तबहादुर सुनुवारको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सुनुवार सेवा समितिकी केन्द्रिय उपाध्यक्ष सन्तकुमारी सुनुवारको प्रमुख आथित्य रहेको थियो । समापन कार्यक्रमा प्रमुख अतिथी सन्तकुमारी सुनुवार, भिमबहादुर सुनुवार र पत्रकार गणेसमान मुखियाले मन्तब्य राखेका थिए । समितिका उपाध्यक्ष देबिप्रसाद सुनुवारले स्वागत गरेको कार्यक्रमको संचालन बुद्धिबहादुर सुनुवारले गरेका थिए ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर