मेचीनगर,

गाँउगाँउ, वस्तीवस्ती उठ…….’ बोलको गीतले क्षेत्र नम्बर १ का मतदाता कम्मर मकाई मकाई छमछमि नाचेका थिए ।जनबादी गायक जेवी टुहुरेलगायतका कलाकारले आइतबार क्षेत्र नम्बर १ का विभिन्न स्थानका सांगातिक कार्यक्रममा गीत प्रस्तुत गरिरहदा मतदाताहरुले कम्मर मकाई मकाई छमछमि नाचेका हुन् ।

बामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनका क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वारलाई जिताउन राष्ट्रिय कलाकारहरु यहाँ आएका हुन् । उनिहरुले बाम गठबन्धनका उम्मेद्वारका लागि मतदातालाई नचाउदै भोट माग्दै गरेका थिए । प्रतिनिधि र प्रदेश सभाको चुनावको मिति दुई दिन मात्र रहदा दलहरुले माहोल तताउदै गएका छन् ।

क्षेत्र नं. १ मा त सांगतिक कार्यक्रमले चुनावी माहोल बनिरहेको छ । चिसो बढेसँगै मतदातालाई विश्वास जित्न दल तथा उम्मेद्वारले गीत संगीतलाई पनि साथसाथै अघि बढाएका छन् ।

बाम गठबन्धनले चर्चित जनवादी गायकहरुलाई यस क्षेत्रमा उतारेर चुनावलाई संगीतमय बनाइरहेको छ । जनवादी गायक जेवी टुहुरे, शम्भू राई, टीका भण्डारी, भीषण राई, पवित्रा ओलीलगायतका कलाकारहरु यतिखेर १ नं. क्षेत्रका विभिन्न चोकमो जनवादी गीतहरु प्रस्तुत गरिरहेका छन् । कार्यक्रममा कलाकारहरुले जनवादी गीतहरु प्रस्तुत गरिरहदा उम्मेद्वार र मतदातासँगै नाच्न थालेका छन् ।
चारआली, बाहुनडाँगी, धुलावारी, चन्द्रगढी, शान्तिनगरलगायतका टोल तथा चोकमा आयोजित साँस्कृतिक कार्यक्रममा कलाकारहरुले कम्युनिस्ट गीत प्रस्तुत गरेर मतदातालाई मनोरञ्जनका साथै बाम उम्मेद्वार जिताउन लागि परेका छन् ।
जनवादी गायक टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ बोलको जनवादी गीत नसुनेको प्राय पुराना मान्छे कोही छैन । अहिले पनि यो गीत नयाँ पुस्तामाझ लोकप्रिय नै छ । यतिसम्म कि नाच्न नजान्नेलाई नाच्न बाध्य बनाउने खालको ऊर्जा दिइरहेको छ । जनतालाई जुरुक्क उठाउने यी र यस्तै जनवादी गीतहरु यस क्षेत्रमा घन्किरहेको छ ।
‘हामी गीतमार्फत् परिवर्तनका लागि हिँडिरहेका छौँ, इटाभट्टा चोकमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्नुअघि मन्तव्यको क्रममा शम्भु राई भन्दै थिए–‘जनताको मुक्तिका लागि ३८ वर्षदेखि सङ्घर्ष गरिहेको छु, बुढेसकाल नभनी तपाईहरुसँग आएको छु । त्यसैले बाम उम्मेद्वारलाई बहुमतले जिताउनु पर्छ ।’
शान्तिनगरमै जन्मिएका संगीतकार टिका भण्डारीले बाम गठबन्धनका उम्मेद्वारलाई जिताए मात्र मुलुक सबृद्धि बन्न सक्ने भएकाले राम कार्की जस्ता बौद्धिक व्यक्तित्वलाई जिताउन आफू यहाँ आएको बताए ।
कलाकारहरुले आइतबारनै चाराआली चोक, बौद्धमोड, नकलबन्दामा गीत प्रस्तुतसँगै प्रतिनिधि सभा उम्मेद्वार राम कार्की, प्रदेश सभा क का उम्मेद्वार श्रीप्रसाद मैनाली र ख का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीको पक्षमा भोट मागेका थिए ।
प्रतिनिधि सभा उम्मेद्वार राम कार्की, प्रदेश सभा क का उम्मेद्वार श्रीप्रसाद मैनाली र ख का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले आइतबार मेचीनगर—२, ३ , ४ को बौद्धमोड, धरधरे, धिमाल वस्ती, भावना चोक, नकलबन्दालगायतका स्थानमा घरदैलो र कोणसभा सम्पन्न गरेका छन् ।
त्यस्तै समानुपातिकका उम्मेद्वार भिम खवास, कुमारी मेचे र सबिना बजगाईले पनि टोलटोल तथा घरदैलोमा चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् ।
घरदैलो, टोल र कोण सभामा क्षेत्र नम्बर १ बाम गठबन्धनका निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाई, बाम गठबन्धनका नेताहरु रविन कोइराला, घनश्याम अधिकारी, असारु राजबंशी, देवकुमार राई, रामचन्द्र उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, हंशलाल राजबंशी, बोधराज दाहाल (असिम), श्यामविर लिम्बु (सौभाग्य), प्रकाश भण्डारी, माधव अर्याललगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

