Aamsanchar

सिटौलाको अन्तिम दिनको सभामा सबै भावुक ‘राजावादीलाई भोट हालेर आफ्नै खुट्टामा वञ्चरो नहान्नोस्’

Author Image
सोमवार, मंसिर १८, २०७४

भद्रपुर।

झापाको क्षेत्र नं. ३ अहिले सबैका लागि चासो र चर्चाको विषय बनेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रतिनिधिसभा सदस्यका पदका लागि प्रत्यक्ष तर्फबाट झापा ३ को चुनावी मैदानमा रहेका छन् ।
नेपालको शान्ति प्रक्रियाको सूत्रधारको रुपमा रहेका विकासप्रेमी नेता सिटौलाले सोमबार मौन अवधि पूर्वको अन्तिम दिनको सभालाई झापाको चकचकीस्थित कटहरडाँगीमा सम्बोधन गरे । सम्बोधनका क्रममा उनको अभिव्यक्ति सुनेर उपस्थित हजारौं स्थानीय भावुक समेत भए ।
सिटौलाले चुनावमा आफ्नो मुख्य प्रतिस्पर्धा राजावादीहरुको पार्टी राप्रपासँग भएको बताउँदै राजावादीलाई भोट हालेर आफ्नो घुँडामा वञ्चरो नहान्न मतदातामा विशेष आग्रह गरे । सिटौलाले एमाले र माओवादीका कार्यकर्तालाई विशेष अपिल गर्दै भने– ‘मुलुक परिवर्तनका लागि भएका क्रान्ति, आन्दोलन, संविधान निर्माणमा खेलेको भूमिकालाई सम्झिएर मलाई रुख चिन्हमा मतदान गर्नुहोस् । राजावादीहरुलाई भोट नहाल्नुहोस् ।’
राजावादीहरुलाई भोट हाल्दा मुलुक फेरि दशकौं पछाडि धकेलिने र अर्को संकटमा फस्ने बताउँदै सिटौलाले गणतन्त्रको पक्षमा आफूलाई मतदान गर्न आग्रह गरे । उनले भने– ‘अहिलेसम्मको आन्दोलनको उपलब्धिलाई बचाउनुहोस् । मुलुकको भाग्य, भविष्य र समृद्धिका लागि तपाईं मतदाताहरु निर्णायक भूमिकामा हुनुहुन्छ ।’
झापा ३ मा आफ्नो कार्यकालमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विकास निर्माण सम्पन्न गरेका कांग्रेस नेता सिटौलाले जनताको अधिकारको पक्षमा भएका आजसम्मको आन्दोलनलाई बिर्सन नहुने बताए । राजा ज्ञानेन्द्रको शासनकालमा नेपाली जनतालाई दिइएको यातना र दोस्रो जनआन्दोलनमा राजावादीहरुको आदेशमा जनतामाथि भएको बर्बर दमनको तितो यथार्थलाई सम्झेर लोकतन्त्रको पक्षमा मतदान गर्न सिटौलाले आग्रह गरे । आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै आन्दोलनले निर्देश गरेको दिशामा राजनीतिलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो ।

यो पनि पढ्नुहोस्

सिटौलाले झापा-३ मा ल्याए ३ अर्बको बिकास, यसकारण जित्छन् चुनाव

सिटौलाले झापा-३ मा ल्याए ३ अर्बको बिकास, यसकारण जित्छन् चुनाव

 

Views: 24

प्रतिक्रिया (०)