Aamsanchar

नेता नेपालको प्रचारमा राज्यमन्त्री लामा

Author Image
सोमवार, मंसिर १८, २०७४

काठमाडौँ, 

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई विकसित राष्ट्र बनाउन जनताले अब वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वाम गठबन्धनले कोटेश्वरमा आज आयोजना गरेको चुनावीसभामा उहाँले देशमा स्थिर सरकार र जनतालाई समृद्ध बनाउन अब देशमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताउनुभयो ।

काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले मुलुकमा लोकतान्त्रिक व्यवस्था कायम गरी जनतालाई अधिकार प्रदान गर्न वाम शक्तिले ठूलो संघर्ष गरेको बताउँदै उक्त गठबन्धन अधिनायकवादी चरित्रको नहुने बताउनुभयो ।

एमालेका पोलिटब्युरो सदस्य अग्नि खरेलले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको विकास गरी नागरिकलाई समृद्ध बनाउने प्रष्ट दृष्टिकोण उक्त गठबन्धनसँग रहेको बताउनुभयो । उद्योगराज्यमन्त्री रेशम लामाले मुलुकमा जनताले राजनीतिक स्थायित्व र परिवर्तन खोजिरहेकाले त्यसको उत्तम विकल्प भनेको वाम गठबन्धन भएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा (क) का उम्मेदवार सानुकुमार श्रेष्ठले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मापदण्ड वृद्धि गर्न स्थानीयको १४० रोपनी जग्गा अतिक्रमण गरेकाले प्रचलित मूल्यअनुसार उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । ख का उम्मेदवार मणिराज फुँयालले दार्शनिक दृष्टिकोण निकट रहेका वभिन्न वाम शक्तिबीच भएको गठबन्धनले नागरिकलाई आर्थिक पहुँच वृद्धि गरी मुलुकलाई समृद्धतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता कुमार पौडेलले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि वाम गठबन्धनको विजय अपरिहार्य रहेको बताउनुभयो ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर