Aamsanchar

झापाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी

Author Image
सोमवार, मंसिर १८, २०७४

बिर्तामोड।

निर्वाचन विथोल्न ‘बम आतंक’ लगायतका गतिविधि भइरहेका बेला झापामा भने उच्च सुरक्षा सतर्कताका साथ निर्वाचनको तयारी पूरा गरिएको छ ।

मतदाताले निभर्यतापूर्वक सुरक्षित रुपमा मतदान गर्न सक्ने अवस्थाको सृजना गरिएको बताउँदै झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले भने– ‘सुरक्षा मजबुत छ, ढुक्कले मतदान गर्नुहोस् ।’ निर्वाचनका लागि झापामा दुई हजार नेपाली प्रहरी, दुई हजार आठ सय म्यादी प्रहरी र एक हजार सशस्त्र प्रहरी र त्यति नै संख्यामा नेपाली सेना मतदान स्थलमा खटाइएको छ ।

जिल्लाभित्र कुनै पनि अप्रिय घटना भए र थप प्रहरी बल आवश्यक परे १० मिनेटभित्रै प्रहरी टोली पु¥याइसक्ने संयन्त्र निर्माण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

झापाका मतदान स्थललाई तीन भागमा विभाजन गरेर सुरक्षा प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । उनका अनुसार ४९ अतिसंवेदनशील, एक सय पाँच संवेदनशील र एक सय २५ सामान्य गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सोमवाररातिदेखि सीमानाका बन्द हुने र आवातजावतमा समेत कडाई गरिएकाले झापामा कुनै अप्रिय घटना नहुनेमा प्रशासन विश्वस्त रहेको प्रजिअ तिवारीले दावी गरे । उनले मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागिता जनाउने मतदातालाई आव्हान समेत गरेका छन् ।

यसैबीच झापाका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र आज मंगलवारबाट मतदाता परिचय पत्र वितरण शुरु गरिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिएका छन् ।

झापामा दुई सय ८३ मतदान स्थल र ६ सय ९२ मतदाता केन्द्र रहेको बताइएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न ५ हजार ५ सय ३४ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २७ सय ६६ स्वयम्सेवक समेत खटिने बताइएको छ ।

झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदाता मतदानमा सहभागी हुने निर्वाचन कार्यालयले जनाएको छ । ६८ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत मतदान स्थल पुगिसकेका छन् ।

Views: 126

प्रतिक्रिया (०)