(नरेन्द्र ढकाल)
बिर्तामोड ।


देशमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छप्पै छोपेपनि किसान भने भोटभन्दा पनि अन्नको जोहोमा जुटेका छन् । मुरी थन्क्याउने महिनाको रुपमा रहेको मंसिरको मध्यपनि बितिसकेको छ । झापाका अधिकांश किसान धान काट्न ब्यस्त रहेका छन् ।

प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वारले ठूला–ठूला आश्वासन देखाएपनि झापाका किसान भने धानको मुल्य नभएकोमा चिन्ता ब्यक्त गर्दछन् । अर्जुनधाराका किसान इश्वर खनाल भन्छन्–असरमा दुःख गरेर धान रोप्यो मंसिर धान बेच्ने बेलामा भाउ छैन्, नेताहरु देशको विकास र समृद्धिका कुरा गर्छन तर किसानका समस्या बुझदैनन् ।
उनले धानको मुल्य निर्धारण नभएकोमा असन्तुष्टि ब्यक्त गरे । त्यस्तै झापा गाँउपालिकाका सरोज भण्डारीको गुनासो पनि उस्तै छ । उनले धानखेतीले लगानी समेत नउठ्ने भएकाले धेरै किसानले जग्गालाई प्लानिङ्ग गरेर बिक्रि गर्न सुरु गरेको बताए । नेताहरुले कृषि प्रधानदेश भनेर भाषण गर्ने तर किसानका समस्या कहिल्यै नबुझेका कारण झापाका किसान निरास बन्नुपरेको तत्कालिन महाभारा गाविस–५ की चन्द्रकला ढकालले बताइन् ।

उनले भनिन्–वर्षेपिच्छे खेत बगरमा परिणत हुनछ नत खोलाको समस्या समाधान भयो नत धानको मुल्य नै छ । किसानको समस्या समाधान गरेर कृषि पेशालाई प्रथमिकता दिनुपर्नेमा किसानहरुले जोड दिएका छन् । उनीहरुले धानको मुल्य नभएकोमा तिब्र असन्तुष्टि ब्यक्त गरेका छन् ।
मंसीर २१ ग्ते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनएपनि अझै किसानहरु न्ेताहरुले आफुहरुको समस्या समाधान गर्नेमा भने विश्वस्त देखिएनन् । उनीहरुले झापालाई अन्नको भण्डार भनेर चिनिएपनि पछिल्लो समय भइरहेको जग्गा प्लानिङ्गका कारण कतै खेती योग्य जमिन नै मासिनेत होइन् भन्ने चिन्ता पनि ब्यक्त गरेका छन् ।
यसैबीच झापामा यस बर्ष धानको उत्पादनमा बृद्धि हुने अनुभान गरिएको छ । बाढिले केही क्षति गरेपनि उत्पादकत्वमा हस नआएको जिल्ला कृषि बिकास कार्यालय झापाले जनाएको छ । गत बर्षभन्दा यो बर्ष २५ मेट्रिकटन बढि उत्पादन हुने कार्यालयको अनुमान रहेको छ । जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिक सहायक धर्मराज कटुवालले ४ लाख १० हजार ४ सय मेट्रिक टन उत्पानदन हुने अनुमान गरिएको जानकारी दिए । गत वर्षको भन्दा २५ मेट्रिक टन बढी भएको उनको भनाई छ ।
जिल्लामा यो बर्ष ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएपनि जम्मा क्षेत्रफलको ९५ प्रतिशत मात्र रोपाइ भएको थियो । लगातारको बर्षाले रोपाइ प्रभावित भएको जिल्ला कृषि बिकास कार्यालयका प्रमुख प्रकाश डाँगीले बताए । जिल्लामा ३८ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा सिचाइ सुबिधा छ भने १२ हजार ८४ हेक्टर अर्ध सिन्चित क्षेत्र रहेका छन् । बाँकी सबै क्षेत्र आकाशे पानीको भरमा खेती हुने गरेको छ ।
गत बर्ष ४ लाख १० हजार ३ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । यो बर्ष प्रतिहेक्टर ४.८ मेट्रिकटन उत्पादन हुने अनुमान छ । बर्षेनी उत्पादन बढे धानको उचित मुल्य भने पाउन नसकेको किसानहरु बताउँछन् । उनीहरुले ब्यपारीले तोकेकै मुल्यमा धान बेच्नु परेको भन्दै असन्तुष्टि जनाएका छन् । जिल्लालाई धानको सुपरजोन घोषणा गरिएको छ । सरकारले धानको मुल्य निर्धारण गर्न नसक्दा किसान बर्षेनी मारमा पर्ने गरेका छन् । धान सुपरजोन कार्यालयका प्रमुख मेघनाथ तिम्सिनाले भने–मुल्य निर्धारण सुपरजोन कार्यालयले नगर्ने बताए । उनले मुल्य निधारण सरकारले नै गर्ने समेत उल्लेख गरेका छन् । जिल्लाका किसानले विशेष गरि रञ्जित, राधा–१२, सुख्खा १ र ३, मनसुली लगायतका धान रोप्ने गरेका छन् ।
किसानले उचित मुल्यन नपाँउदा सस्तैमा धान बेच्नुपर्ने र उक्त धान भारत तर्फ निकासी हुने तथा सोही धान पछि प्रशोधन गरेर नेपालमा नै महँगो मुल्यमा किन्नुपर्ने बाध्यता रहेको छ । बेलैमा किसानहरुले उचित मुल्य पाउने हो भने नेपालमा उत्पादन भएका धान भारत निकासी नहुने र नेपालले भारतको भरपनि पर्नुनपर्नेमा किसानहरुले जोड दिएका छन् ।
सरकारले कृषिलाई बढवा दिनका साथै यसको बजारीकरणमा बेलैमा ध्यान दिने हो भने किसानले आफ्नो पारिश्रमिक पनि पाउने र धान खेतीलाई अझ बिकास गर्दै अन्नको भण्डारको रुपमा झापालाई विकास गर्न अझ धेरै हौसला मिल्ने किसानहरुको भनाई छ ।

