बिर्तामोड।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको परिणाम अप्रत्याशित भएको बताएका छन् ।
झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि प्रतिष्पर्धी विजयी उम्मेदवार राजेन्द्र लिङ्देनलाई वधाई दिँदै उनले यस्तो बताएका हुन् ।
झापाबाट काठमाडौं फर्कनुअघि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले अब नेपाली कांग्रेसले नयाँ दृष्टिकोण र कार्ययोजनाकासाथ अघि बढ्ने र संगठनलाई चलायमान बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत रहने बताए ।
हाम्रा सामु धेरै चुनौति थपिएका छन् सिटौलाले भने– समस्याको समाधान गर्न बिशेष रणनीति तयार गरी अघि बढनु पर्छ । झापा क्षेत्र नम्वर ३मा आफ्नो पहलमा तीन अर्व ५० करोडका विकास योजनाहरु निर्माणाधीन रहेको र ती योजना आफू पराजित भएपनि पूर्ण गराउन लागीपर्ने उनले बताए ।

क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यमा सिटौला बाम गठबन्धनकातर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनसंग १३४४३ मतले पराजित भएका थिए । उनले ३१ हजार १ सय ७१ मत प्राप्त गरे । लिङ्देनले ४४ हजार ६ सय १४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।



