Aamsanchar

सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य

Author Image
शुक्रवार, मंसिर २९, २०७४

बिर्तामोड।

झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् ।

जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् ।
भद्रपुर–९की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारागारभित्र रहेको शौचालयको फोहर व्यवस्थित नगर्दा नजिकै रहेका घरपरिवार दुर्गन्धमा बस्न बाध्य भएको न्यौपानेले बताए ।

न्यौपानेसहित स्थानीयवासीको समूहले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई कारागारको फोहरका कारण बसोबास गर्न नै समस्या भएको जानकारी गराएका छन् । शौचालयको फोहरले न्यौपाने परिवारको एक बिगाह जमिनमा लगाइएको धान काट्न समस्या भएको छ ।

खेतमा धान पाकिसकेको छ– न्यौपानेले भने– मजदुरले काट्न मान्दैनन्, दुर्गन्धले झनै समस्या भएको छ । लामो समयदेखि फोहर व्यवस्थापन गर्नभन्दा पनि कारागार प्रशासनले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ ।

कारागार प्रशासनले आफूहरुले समाधान गर्न नसक्ने भन्दै जिल्ला प्रशासन जान सुझाव दिने गरेको पीडित परिवारको भनाइ छ । कारागार प्रमुख यज्ञ निरौलाले यो पुरानै समस्या भएको प्रतिक्रिया दिए । कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन्, फोहर व्यवस्थापनमा कठिनाइ भएको छ– उनले भने– म एक्लो मान्छेले के गर्नु ?– प्रमुख निरौलाले यस विषयमा नगरपालिका र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताए ।

यता भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समस्या समाधानका लागि सरोकारवालासँग पहल गर्ने बताए । झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने समय नजिकिँदै जाँदा कारागारको शौचालय भने दिनहुँ अव्यवस्थित बन्दै गएको छ । रासस

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर