अर्जुनधारा।
बलिउड गायक एस किङ झापाको अर्जुनधारामा आउने भएका छन् । नाजी इन्टरटेन्टमेन्ट, फेम नेपाल र पोजिटिभ मिडिया इभेन्टस्को संयुक्त आयोजनामा आगामी माघ १ गते अर्जुनधारा–७स्थित दी फन वल्र्ड एण्ड छहारी रिसोर्ट परिसरमा हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी अर्जुनधारामा आउने विहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
पोजिटिभ मिडिया इभेन्टस्का प्रबन्ध निर्देशक गोपाल पोखरेलका अनुसार बलिउड गायक किङ आगामी पुस २८ गते काठमाडौंमा हुने पहिलो सांगीतिक कार्यक्रममा सहभागी भएर अर्जुनधारा आउने भएका हुन् ।
अर्जुनधारामा हुने कार्यक्रममा बलिउड गायक किङसँगै राष्ट्रिय कलाकार दीपक बज्राचार्य, राष्ट्रिय व्याण्डहरुको पनि सांगीतिक प्रस्तुति रहने पोजिटिभ मिडिया इभेन्टस्का उपाध्यक्ष एवम् दि फन वल्र्डका सञ्चालक समिर मोदीले जानकारी दिएका छन् ।
पूर्व मिस नेपाल मलिना जोशी उद्घोषक रहने सो कार्यक्रममा बलिउड गायक किङले एक घण्टा आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने बताइएको छ । सीमित सिट संख्याको व्यवस्था गरिएको सो कार्यक्रमको प्रवेश शुल्क एक हजार रुपैयाँ, भीआइपी र भीभीआइपी शुल्क क्रमशः दुई हजार पाँच सय रुपैयाँ र पाँच हजार रुपैयाँ निर्धारण गरिएको पोजिटिभ मिडिया इभेन्टस्का सचिव सञ्जय मोदीले जानकारी दिएका छन् ।
कडा सुरक्षाकाबीच राम्रो व्यवस्थापनमा सम्पन्न गर्न खोजिएको सो कार्यक्रमका लागि २० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । यस अघि झापाको विभिन्न स्थानमा राष्ट्रिय कलाकार तथा ब्याण्डहरुको सहभागितामा २४ पटक भन्दा बढी सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेको पोजिटिभ मिडिया इभेन्टस्ले आगामी दिनमा बलिउडका अतिफ अस्लाम, बादशाह, फरान अख्तर, सनप पुरीलगायतलाई पनि सांगीतिक प्रस्तुतिका लागि निमन्त्रणा गर्ने बताइएको छ ।