Aamsanchar

गाईपालनबाट वार्षिक बाह्र लाख कमाइ

Author Image
शुक्रवार, मंसिर २९, २०७४

[प्रकाश धौलाकोटी ]

तेह्रथुम, 

छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । तर उनीहरुमध्ये कमैले मात्र सोचेका हुन्छन् कि मेहिनेत गर्दा स्वदेशमा आफैँ पनि रोजगार बन्न सकिन्छ भनेर ।

एक पटक मलेसिया पुगेर त्यहाँको दुःख झेलिसकेका कार्कीले त्यहाँ रहँदाको दुःख, पीडा र त्यहाँ कमाएको थोरै रकम पनि बचत गर्न नसकेको सम्झिनुभयो । एक पटक घरै बसेर रोजगार बन्न प्रयास गर्ने निधो गर्नुभयो । अन्ततः दरिलो जोश, जाँगर र थोरै भए पनि लगानी गर्ने हो भने स्वदेशमा नै प्रशस्त धनआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुभएको छ कार्कीले ।

त्यतिवेला तीनवटा उन्नत जातका गाई इलामबाट ल्याएर थालेको व्यावसायिक गाईपालनबाट उहाँले अहिले घरैमा बसेर वार्षिक रु १२ लाखभन्दा बढी कमाउनुहुन्छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । अहिलेसम्म कार्कीको गाई फार्ममा झण्डै रु २० लाख लगानी भइसकेको छ । शुरुमा आफैँले ऋण काढेर रु तीन लाख लगानीले थालेको व्यवसायमा अहिले रु दुई लाख थप्नुभएको छ । प्राइम बैंक र कृषि विकास बैंकबाट रु पाँच÷पाँच लाख कर्जा लिनुभएको छ ।

फार्म सञ्चालनका लागि स्थानीय वित्तीय संस्थाले समेत सहयोग गर्दै आएको कार्कीले बताउनुभयो । दुई वर्षमा उहाँले फार्मको खर्च कटाएर रु १० लाख ऋण चुक्ता गर्नुभएको छ । फार्ममा रहेका १० वटा गाईले दैनिक ७० लिटर दूध दिने गरेका छन् । गाउँमा डेरीले प्रतिलिटर रु ४५ देखि रु ५५ सम्ममा दूध खरिद गरिरहेका छन् । अहिले दूधबाट मात्रै कार्कीले मासिक रु एक लाख २० हजार आम्दानी गर्नुहुन्छ ।

“रु ६० हजारसम्म बचत हुन्छ,” उहाँले भन्नुभयो । विदेशबाट फर्किएपछि गाउँमा गाईपालन व्यवसायको थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन गोरखासम्म पुगेको कार्कीले सुनाउनुभयो । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि कार्की त्यसतर्फ लाग्नुभएको हो ।
“विदेशमा धेरै मिहेनत गर्नुपर्छ,” कार्कीले भन्नुभयो– “घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्नुपर्छ ।” उहाँ स्वदेशमै गरेको कमाइबाट सन्तुष्ट हुनुहुन्छ । “यहाँ कमाइ पनि छ, जोखिम पनि छैन, सुखदुःख साँट्ने परिवार पनि साथै छ,” उहाँले भन्नुभयो ।

रोजगारी नपाएर विदेशिनुभएका कार्कीले अहिले आफ्नो गाई फार्ममा तीन जनालाई रोजगारी समेत दिनुभएको छ । गाईको रेखदेख, घाँस काट्ने, खोले र दाना पानी खुवाउने, दुहुनेलगायत काम उहाँहरुले गर्नुहुन्छ । गाईको संख्या बढाएर १५ वटा पु¥याउने उहाँको लक्ष्य छ ।

कार्कीले गाईपालनका लागि ५० किलो घाँसको बीउ ल्याएर खेती गर्नुभएको छ । सरकारी अनुदानबापत अहिलेसम्म घाँसको बीउ मात्र पाएको उहाँको भनाइ छ । युवालाई कृषि पेशामा प्रोत्साहन गर्न सरकारले कुनै कार्यक्रम नल्याएको कार्कीको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर