Aamsanchar

सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न अध्यक्ष ओलीको आग्रह

Author Image
शनिवार, पौष १, २०७४

भक्तपुर, 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उहाँले निर्वाचनको परिणाम आइसकेकाले अब काँग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्न नहुने बताउनुभयो । राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैर संवैधानिक अध्यादेश राष्ट्रपतिसमक्ष लगेको उल्लेख गर्दै उहाँले गैर संवैधानिक अध्यादेश पारित गर्न नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा निहुँ खोजेर काँग्रेसले सत्ता लम्ब्याउन चाहेको आरोप लगाउँदै काँग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्न खोजेको छ भन्नुभयो ।

नयाँ सरकार बनाउन राष्ट्रियसभा गठन आवश्यक नरहेको प्रष्ट पार्दै उहाँले निर्वाचन आयोगले पनि कानूनअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले आयोग संविधान र कानूनअनुसार चल्नुपर्ने बताउँदै प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै उहाँले जनमतअनुसार काँग्रेसलाई सत्ता छाड्न र प्रदेश प्रमुख नियुक्तिमा अनावश्यक कसरत नगर्न पनि आग्रह गर्नुभयो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर