कञ्चनपुर,
शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस (खास बीउ) बीउ उत्पादन गर्दै आएका हुन् । यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले रु तीन लाखदेखि रु पाँच लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् ।
आलुको दानाबाट लाग्ने रोगले े उत्पादनमा क्रमिक रुपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउले उत्पादन वृद्धि हुने, रोगप्रतिरोात्मक क्षमता बढ्ने र आलु बालीमा लाग्ने प्रमुख डढुवा रोग सहन सक्ने क्षमता हुने भएकाले खास बीउ उत्पादनमा लागेको सीताराम चौधरीले बताउनुभयो ।
बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय बनेको हो ।
बीउ आलुभन्दा बियाँबाट आलुखेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले आलुखेती विस्तारका लागि बियाँ बीउ एक विकल्पका रुपमा प्रयोग गर्न सकिने कृषक पुरन चौधरीले बताउनुभयो । राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरी बीउ उत्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
“घाम लाग्ने सिँचाइ र निकासको राम्रो व्यवस्था भएको जग्गा छनोट गर्ने र नर्सरी राखी जैविक वा रासायनिक मल र बियाँ ब्याडमा राखेर बोट उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ बिरुवा उम्रेको २५ दिनपछि खेतीका लागि खेतमा आलुका बोट रोपिन्छ ।” टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार (रातो) जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती यहाँका कृषकले गर्दै आएका छन् ।
जोनापुरका ४५ र पिपलाडीका ४० परिवार कृषि विकास कार्यालयबाट तालीम लिई एक दशकदेखि आलुको बीउ उत्पादनमा उनीहरू लागेका हुन् । विसं २०५७ देखि आलुको बीउ उत्पादनमा लागेका यहाँका कृषकले बार्षिक रुपमा ८० मेट्रिक टन बीउको आलु उत्पादन गर्दै आएको स्थानीय कृषक लक्ष्मण चौधरीले बताउनुभयो ।
दश कट्ठादेखि एक बिगाहा जग्गामा यहाँका कृषकले आलुखेतीलाई निरन्तरता दिँदै आएका छन् ।कूल २० हेक्टर क्षेत्रफलमा यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो । यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ ।
व्यापारीले कृषकको घरमै पुगेर आलु खरिद गरेर लैजाने गरेकाले बजारको अभाव नरहेको वसन्ती चौधरीले बताउनुभयो । बीउको आलुसँगै खाने आलु ४० मेट्रिक टन प्रतिवर्ष यहाँ उत्पादन हुँदै आएको छ ।
यसरी सिडलिङ्ग प्रविधिबाट उत्पादन गरिएको आलुको दाना पूर्णरुपमा निरोगी हुने भएकाले प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । रोग नियन्त्रणका लागि तालीम र शीतभण्डारको व्यवस्था नहुँदा उत्पादित आलुको बीउ भण्डार गर्न यहाँका कृषकलाई समस्या छ ।