Aamsanchar

मेची पुल दुई महिनाभित्र, पुल जोड्ने सडक अलपत्र

Author Image
मङ्गलवार, पौष ४, २०७४

[पार्थ मण्डल]

भद्रपुर।

दक्षिणी झापाबासीको सात दशकदेखिको संघर्ष र दवाव पश्चात निर्माण कार्य शुरु भएको बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भारतीय सीमावर्ती नाकासँग जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुल यही २०७४ माघ मसान्तसम्म तयार भइसक्ने निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनले जनाएको छ । यो पुल पायर स्ट्रेर्स पोष्ट टेन्सियन्ड प्रविधियुक्त सामग्री प्रयोग गरी नेपालमै पहिलोपटक बन्न लागेको बताइएको छ ।

तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री बिजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्षभित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर बल्ल ९ बर्षमा पूरा हुन लागेको छ । भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुलको कूल लागत करिब ३३ करोड रुपैयाँ रहेको छ । पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर छ ।

कसरी हु“दैछ निर्माण कार्य ?

नेपाल सरकारले बजेट निकासा गरेपछि वि.स. २०६६ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य शुरु भएको हो । तीन बर्षमा निर्माण कार्य सम्पन्न हुनुपर्ने मेची पुल ९ बर्षपछि पूरा हुन लागेको छ । लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अब दुई महिनामा पुल तयार हुनेछ । एक बर्षअघि नै १७ पिलर मध्ये १५ वटा पिलरसहित पुलमाथिको ढलान पूरा भइसकेको थियो । निर्माणाधीन अवस्थामा पुलको १० र ११ नम्बरको पिलर माटोमुनि धसाउने क्रममा बाङ्गिएको थियो ।

सो पिलरमा अहिले धमाधम काम भइरहेको कन्ट्रक्सनका इञ्जिनियर सुरेन्द्र खतिवडाले बताए । इञ्जिनियर खतिवडाले भने– ‘दुई वटा पिलर उठाउने काम सम्पन्न भइसकेको छ, अहिले पिलरमाथि तयारी अवस्थामा रहेको गडर क्रेनको सहयोगमा चढाउने काम हँुदैछ ।

११ वटा गडर चढाइसकेका छौं, अब एउटा गडर उठाउन बाँकी छ’ – उनले भने– ‘चढाएको गडरमाथि रड बुन्ने काम तीव्र पारेका छांै, केही दिनभित्र त्यसमाथि ढलान गर्नेछौं ।’ १०५ मिटर मात्र निर्माण कार्य बाँकी रहेकाले यही माघ मसान्तसम्ममा काम सम्पन्न भइसक्ने उनको दावी छ ।

किन भयो निर्माण कार्यमा ढिलाई ?

मेची नदीमा पानीको सतह बढ्दा बर्खाको चार महिना पुल निर्माण कार्य ठप्प नै हुन्छ । त्यसमाथि निर्माणाधीन अवस्थामै पिलर नम्बर १० र ११ माटोमा धसाउने क्रममा २५ सीएम (टिल) बाङ्गिएको थियो ।

माटो परीक्षणको गलत रिपोर्टका कारण यस्तो हुन गएको निर्माण कम्पनीले जनाएको छ । पिलर बाङ्गिएपछि गत २०७२ फागुनमा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इञ्जिनियरसहितको टोलीले बाङ्गिएको पिलरलाई रि–डिजाइन गर्न स्थलगत अनुगमन गरेर गएको थियो । इञ्जिनियरले स्थगलत अनुगमन गरेर गए पनि लामो समयसम्म आधिकारिक पत्र कम्पनीलाई प्राप्त भएन ।

स्थानीय र राजनीतिक दलको चर्को दवावपछि सडक विभागले २०७४ साल बैशाख २९ गते रि–डिजाइनको आधिकारिक पत्र कम्पनीलाई पठायो । पत्र पठाएको केही दिनमै निर्माण कार्यले तीव्रता पाएको कन्ट्रक्सनका इञ्जिनियर खतिवडाले बताए । उनले भने– ‘आधिकारिक पत्र समयमा प्राप्त भएको भए अहिले मेची पुलको सम्पूर्ण काम एक बर्ष अगाडि नै सकिन्थ्यो ।’

पुल जोड्ने सडक निर्माणमा ढिलासुस्ती

मेची पुलको निर्माण कार्य माघ मसान्तसम्ममा सम्पन्न भए पनि पुल जोड्ने सडक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । पुलको पूर्वपट्टि अर्थात् भारतीय भूमि (१०३ नम्बर सीमा पिलरसँग) जोड्ने सय मिटर सडक र पश्चिमपट्टि १ सय ८० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको सडकको निर्माण पुल कम्पनीले गर्नुपर्ने हुन्छ ।

पूर्वपट्टि भारतको बंगाल तथा बिहार राज्य पर्ने भएकोले सो सडकलाई बिहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको छ । विहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३६० मिटर सडक निर्माणको लागि टेण्डर प्रक्रियामा शुरु गरेको बताइएको छ ।

तर, नेपालको भद्रपुर जोड्ने सडक निर्माण गर्ने स्थानमा बसोबास गर्दै आएका नगरबासी र सरकारी भौतिक संरचना अहिलेसम्म खाली गराइएको छैन । जमिन खाली गराउन ८ करोड रकमको आवश्यक देखिएको छ । भौतिक संरचना हटाउन जमिनको लागि मात्र साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर उपेन्द्र दासले बताए ।

उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई जमिन वापत ४ करोड वितरण गरिसकिएको छ । जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ । यसको अध्ययन गरी आधिकारिक पत्र सडक विभागमा पठाइसकेका छांै । अब सडक विभागले अर्थ मन्त्रालयसंग रकम माग गरेर पठाएपछि मात्र सडकको काम शुरु हुन्छ उनले भने ।

हिउ“दमा बा“से पुल र बर्खामा डुंगाको प्रयोग

पूर्वी नाका काँकरभिट्टापछि झापाको दोस्रो महत्वको नाका भद्रपुर पर्छ । विहार तथा बंगालसहित बंगलादेश जान समेत यस नाकाबाट दुरी छोटो हुने भएकाले यस नाकाको छुट्टै विशेषता छ ।

यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनु पर्ने भन्दै सात दशकदेखि यहाँका जनताले माग गर्दै आएका थिए । बर्खा सकिन साथ मेची नदीमा बनाइँदै आएको अस्थायी बाँसे पुलको सहयातामा पनि सर्वसाधारण आवतजावत गर्ने गर्छन् । अस्थायी बाँसे पुल बनाएकोे पनि १५ बर्षभन्दा बढी भइसकेको छ ।

केही बर्ष भद्रपुर नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै बाँसे पुलबाट आवतजावतलाई निःशुल्क बनाएको थियो । तर, यसबर्ष नगरपालिकाले सर्वसाधारण बाहेक अन्य सवारीसाधन र सरसामानबाट शुल्क उठाउनका लागि ठेक्का नै दिएको छ । यस नाकामा भद्रपुर छोटी भन्सार रहेकोले त्यतिकै मात्रामा भारतबाट सरसामान पनि राँगा गाडाको प्रयोग गरेर नेपाल आयात हुन्छ ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर