राजगढ।

देशकै सुगम जिल्ला मध्येको जिल्ला हो– झापा । तर, यो जिल्लाका अझै पनि धेरै ठाउँमा विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौ सर्बसाधारण वर्षाैदेखि टुकीको भरमा बस्न बाध्य छन् । त्यसमा पनि वाह्रदशी गाउँपालिकाको दक्षिणी भेगका सर्बसाधारणको विद्युत् सेवा उपयोग गर्ने सपना सपनामै सीमित छ ।

वाह्रदशी गाउँपालिका वाड नम्वर १मा रहेको भागुडुब्बा बजारमा विद्युत् सेवा नपुग्दा यहाँका सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् । भागुडुब्बा बजार मात्र होइन सोही वडाको १२ सय घर परिवार मध्ये झण्डै एक हजार परिवार वर्षौंदेखि विद्युत् सेवाविहीन छन् । पूर्वश्रम तथा यातायात व्यवस्था सहायक मन्त्री टेकनारायण राजवंशीको गाउँ हो– भागुडुब्बा । उनी राज्यमन्त्री हुँदा यहाँका अधिकांश सर्वसाधारणले विद्युत् विस्तारका लागि धेरैपटक आग्रह गरेका थए । तर, मन्त्री राजवंशीले आफ्नै ठाउँमा विद्युत विस्तार गर्न नपाउँदै ६ महिनामै पद मुक्त भएका थिए ।
त्यस्तै नेपाली कांग्रेसका नेता केशवकुमार वुढाथोकी तत्कालीन झापा क्षेत्र नम्वर ५बाट दुई ÷दुई पटक संसदमा निर्वाचित हुँदै सामान्य प्रशासनमन्त्री समेत बने । उनी मन्त्री हुँदा यहाँका सबैले पहिलो प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्न माग गरे । तर, तत्कालीन मन्त्री बुढाथोकीले भागुडुब्बावासीको माग पूरा गर्न नसक्दा उनीहरु अझै पनि अन्धकारमा बस्न बाध्य छन् ।

बाह्रदशी गाउँपालिकाको वडा नम्वर २को पनि अवस्था उस्तै छ । वडा नम्वर २का अझै एक सय भन्दा बढी घर अर्थात् सिङ्गो मोटापानी गाउँमा विद्युत् सेवा पुग्न सकेको छैन । मोटापानी गाउँँ राजगढ बजार पश्चिमको गाउँ हो । बजारबाट झण्डै एक किलोमिटर दुरीमा योे गाउँ रहेको छ । यहाँका सर्बसाधारण अझै विद्युत् सेवाविहीन रहेको वडा अध्यक्ष यादव मिश्रले बताए । त्यस्तै वाड नम्वर ३मा पनि झण्डै ६० देखि ८० परिवार विद्युत् सेवाविहीन रहेको वडा अध्यक्ष वीरेन्द्र राजवंशीले बताए । उनले आफ्नो वडामा विद्युत् विस्तारका लागि ३ देखि ४ सय विद्युत् पोल आवश्यक पर्ने बताएका छन् ।
यता वडा नम्वर ४मा पनि सवै क्षेत्रमा विद्युत् विस्तार भइनसकेको बताउँछन्– वडा अध्यक्ष समिम मिया । उनी भन्छन् – साविक चकचकी–१को केही भाग र वगान एरियामा विद्युत् विस्तार हुन सकेको छैन । विद्युत् सेवाविहीन सन्थाल समुदायका धेरै छन् । बाह्रदशी–५मा एक सय ५० भन्दावढी घर परिवार विद्युत् सेवाविहीन छन् ।
वडा अध्यक्ष भूपेन्द्र कटुवालका अनुसार सन्थाल बस्ती, बद्री गाउँ, मुन्सी बगान लगायतका स्थानमा वसोवास गर्ने अधिकांशले विद्युत् सेवा उपयोग गर्न पाएका छैनन् । वडा नम्वर ६का अध्यक्ष रत्नप्रकाश योङ्हाङका अनुसार सो वडामा अझै पनि २ सय घर परिवार विद्युत् सेवाविहीन छन् । विद्युत् सेवा उपयोग गर्न नसक्नेहरुमा आदिवासी जनजाति बढी रहेका छन्– अध्यक्ष योङ्हाङले भने– यो आर्थिक वर्ष भित्र सवैको घरमा विद्युत् सेवा पुग्छ ।
अछुतो छैन वाह्रदशी ७ पनि
वाह्रदशी ७को वत्तीसविगाह एरियामा विद्युत् सेवा पुग्न नसक्दा त्यहाँका सर्वसाधारण विद्युत् सेवाबाट बञ्चित छन् । वडा अध्यक्ष मित्रराज भट्टराईका अनुसार वडा नम्वर ७मा थोरै संख्यामा मात्र विद्युत् सेवा पुग्न सकेको छैन ।
अध्यक्षकै घरमा छैन बिजुली
बाह्रदशी गाउँपालिकाका अध्यक्ष हुन्– खड्गप्रसाद राजवंशी । उनको घर वाह्रदशी गाउँपालिका वाड नम्वर २ मोटापानीमा रहेको छ । उनी अझै पनि विद्युत् सेवाविहीन छन् ।
उनी मात्र होइन उनको सिङ्गो मोटापानी गाउँमा अझै विद्युत् सेवा विस्तार हुन सकेको छैन । वडा नम्वर १का अध्यक्ष शम्भुसिंह राजवंशी पनि विद्युत् सेवाविहीन छन् । उनी भागुडुब्बा निवासी हुन् ।
उज्यालो बाह्रदशीका लागि १ करोड
वाह्रदशी गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको छ– विद्युत् सेवा विस्तार । सवैको घरमा यही आर्थिक वर्षभित्र विद्युत् सेवा पु¥याउने लक्ष्यसहित गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान नै सञ्चालन गरेको छ ।
जसका लागि गाउँपालिकाले एक करोड रुपैयाँ बजेट बिनियोजन गर्दै लगत संकलनमा जुटेको बताउँछन्– गाउँपालिका अध्यक्ष राजवंशी । उनी भन्छन्– यही महिनाभित्र लगत संकलन गरी विद्युत् विस्तारको काम शुरु हुन्छ । हाम्रो पहिलो प्राथमिकता भनेकै सबैका घरमा विद्युत् सेवा पु¥याउनु हो ।
उज्यालो वाह्रदशीका लागि सार्वजनिक स्थानमा समेत सोलार जडानका लागि तीन सय वटा सोलार बत्ती खरिद गरिँदैछ । बिपन्नता वर्गका घरमा निःशुल्क विद्युत् जडान गर्न गाउँपालिकाको सहयोग रहन्छ– अध्यक्ष राजवंशीले भने ।

