Aamsanchar

सरकारी स्वास्थ्य संस्थामा डाक्टरको मनपरी / दूर्योधनको यस्तो चर्तिकला

Author Image
बुधवार, पौष ५, २०७४

[सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल]
बिर्तामोड।

प्रत्येक सरकारी स्वास्थ्य संस्थाले १० बजेदेखि ५ बजेसम्म सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्नुपर्ने नियम रहेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले देशभरका सवै जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै स्वास्थ्य संस्थालाई १०देखि ५ बजेसम्म सेवा प्रदान गर्न निर्देशन दिए पनि झापामा रहेका सरकारी स्वास्थ्य संस्थाले अटेरी गर्दै नियम पालना नगर्दा सेवाग्राही मर्कामा परेका छन् ।

आमसञ्चारकर्मीले मंगलवार गरेको छड्के अनुगमनका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा चिकित्सकले मनपरी गरेको फेला परेको छ । चिकित्सकले नियमको खिल्ली उडाउँदा सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन् । डाक्टर ११ बजेसम्म स्वास्थ्य केन्द्र नआउने र ३ नबज्दै सबै कर्मचारीसहित बाहिरिने गर्दा सेवाग्राही मारमा परेका हुन् ।

अनुगमनका क्रममा डा. दूर्योधन यादव सवा ११ बजेसम्म आमसञ्चारकर्मीले टेलिफोन सम्पर्क गर्दा मात्र स्वास्थ्य संस्था छिरेका थिए । १० बजे नै स्वास्थ्य संस्था पुगेको आमसञ्चारकर्मीको टोलीले फोन गरेपछि मात्र उनी आएका थिए । औपचारिक पोशाक बिना स्वास्थ्य संस्था आए पनि उनी केहीवेरमै बाहिरिए । आफू बिदा बसेको जनाउँदै उनी वाहिरिएका थिए । स्वास्थ्य संस्थामा १६ जना कर्मचारी कार्यरत् भए पनि मंगलवार ५ जना मात्र कार्यालयमा भेटिएका थिए । त्यस्तो अवस्थामा समेत कार्यालय प्रमुख आफैं सेवाग्राहीलाई सेवा नदिई बाहिरिएका थिए । उनीसंगै अन्य कर्मचारी पनि तीन नबज्दै स्वास्थ्य संस्थाबाट निस्किएका थिए । आकस्मिक सेवासहित २४संै घण्टा सेवा प्रदान गर्नुपर्ने सो स्वास्थ संस्थामा कुनै दिन डाक्टर नवस्ने र उनीहरु निजीमा धाउने गरेको स्थानीयवासीले बताएका छन् ।

तीन जना डाक्टर हुनुपर्ने भए पनि मंगलवार एक जना मात्र डाक्टर स्वास्थ्य संस्थामा उपस्थिति थिए । आमसञ्चारकर्मीको टोली स्वास्थ्य संस्था पुग्दा डा. किरण पाठक स्वास्थ्य जाँचमा तल्लीन थिए भने सिनियर अहेब गंगा पौडेल प्रतिवेदन तयार गर्न व्यस्त थिइन् । १० बजे कार्यालय सहयोगी गंगा कट्टेलले स्वास्थ्य संस्था खोले पनि पाठक र पौडेलबाहेक अन्य कर्मचारी ११ बजेमात्र कार्यालयमा उपस्थित भएका थिए । कार्यालयमा डा. यादव, डा. प्रवीन भट्टराई र डा. किरण पाठकको दरबन्दी रहे पनि डा. प्रवीन काजमा बसेको यादवले बताए । तर, उनले डा. प्रवीन काजमा कहाँ गएको त्यो भने बताएनन् ।

सो स्वास्थ्य संस्थामा तीन जना चिकित्सकसहित सिनियर अहेब २, एचए १, अहेब १, स्टाफ नर्स १, सिएनएम ३, ल्याव टेक्निसियन २ र कार्यालय सहयोगी ३ जना कार्यरत् छन् । ल्याब टेक्निसियन गरिमा अधिकारी क्षयरोग सम्बन्धी गोष्ठीमा गएको पाइएको थियो ।

डा. दुर्योधन यादवले ३ बजेपछि सेवाग्राही नआउने बताउँदै नियमित आफूहरु ३ बजे पछाडि बाहिर सेवा प्रदान गर्न जाने बताएका छन् । उनले भने– ‘हामी ३ बजेपछि कार्यालय बस्दैनौं । सेवा लिन कोही आए कार्यालयमा रहेका सिस्टरले उनीहरुलाई सेवा दिन्छन् । त्यस्तै परे आफूहरुलाई खबर गरेपछि मात्र हामी स्वास्थ्य संस्था आउने गरेका छौं ।’

कनकाईको खेल मैदानमा भइरहेको भलिवल प्रतियोगिता हेरिरहेका कनकाई–३का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले आमसञ्चारकर्मीको टोली देखेपछि ३ः४५ बजे स्वास्थ्य संस्था आएका थिए । उनले स्वास्थ्य संस्थामा डाक्टर नभेटेपछि स्वास्थ्य संस्थाको सेवालाई सुधार गर्ने आमसञ्चारकर्मीलाई प्रतिवद्धता जनाएका छन् । उनले बुधबारबाटै स्वास्थ्य संस्थाको सेवा नियमित बनाउने बताए ।

आफूहरुले समय दिन नसक्दा डाक्टरले मनपरी गरेको भन्दै यस्तो कार्य तत्काल रोक्ने र सेवालाई चुस्तदुरुस्त राख्न तत्काल बैठक बोलाउने उनले बताए । स्थानीय निकायलाई धेरै अधिकार दिइए पनि वडाध्यक्ष चिमरियाले तत्काल स्पष्टीकरण सोध्ने विषयमा भने केही भन्न सकेनन् । उनले तीन दिनभित्र सबैलाई राखेर छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यता जिल्ला जनस्वास्थय कार्यालय झापाका सूचना अधिकारी देवराज कार्कीले भने धेरै अधिकार स्थानीय निकायमा गएकाले आफूहरुले यो विषयमा जानकारी नपाएको बताए । जनस्वास्थ्यले स्वास्थ्य संस्थाहरुको अनुगमन नगर्दा डाक्टरहरुको मनपरी बढ्दै गएको छ । उनले तत्काल डा. यादवको विषयमा बुझ्ने भन्दै स्वास्थ्य संस्थामा डाक्टर तथा सबै कर्मचारी बस्नुपर्ने बताएका छन् । उनले घुमाउँरोशैलीमा सो स्वास्थ्य संस्थाको समाचार नलेखिदिन पटक–पटक आमसञ्चारकर्मीलाई डा. दूर्याेधनको मोवाइल मार्फत नै आग्रह समेत गरेका छन् ।

पोशाक लगाउँदैनन् डाक्टर

सरकारले निजामती कर्मचारीलाई कार्यालय समयमा अनिवार्य पोशाक लगाउन निर्देशन दिए पनि डाक्टर यादव सहित त्यहाँ कार्यरत अधिकांशले निर्देशनको खिल्ली उडाएका छन् । पोशाक भत्ता लिने तर पोशाक नलगाई हाट बजार हिँडेझैं डाक्टर यादव स्वास्थ्य संस्थामा मंगलवार आएका थिए ।

बिरामी उपचारका लागि आउँदा डाक्टर खोज्नु स्वभाविक हो । तर, डाक्टर आफ्नो पोशाकमा नभेटिँदा को हो भन्ने छट्याउनै गाह्रो हुने गरेको सर्वसाधारणको भनाइ छ । सरकारले निजामती कर्मचारीलाई पोशक भत्ता साढे सात हजार रुपैयाँ दिने गरेको र पोशाक नलगाए सो रकम फिर्ता गर्नुपर्ने हुन्छ । राज्यले सरकारी कर्मचारीको नियमित अनुगमन नगर्दा कर्मचारीले सरकारी निर्णयको खिल्ली उडाइरहेका छन् ।

सरकारीभन्दा निजीमा ध्यान

सरकारी सेवा सुविधा लिएर डा. यादव निजी स्वास्थ्य संस्थामा वढी धाउने गरेको सर्वसाधारणले आरोप लगाएका छन् । आमसञ्चारकर्मीको टोलीले बिहान १० वजेदेखि ४ वजेसम्म निगरानी गर्दा उनी बढी निजीमा सेवा दिने गरेको भेटिएका थिए ।

डा. यादव अहिले भने सुरुङ्गाकै एक निजी स्वास्थ्य संस्थामा काम गर्न थालेका छन् । उनी सोही स्वास्थ्य संस्थामा बढी बस्ने गरेको पाइएको छ ।

यसरी गरियो छड्के जाँच

सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य संस्थामा डाक्टरहरु नबस्ने तथा बसे पनि कार्यालय समयमा नआउने गरेको जनगुनासो बढेसँगै आमसञ्चारकर्मीले छड्के अनुगमन गरेको थियो । बिहान १० बजे उक्त स्वास्थ्य संस्थामा हाम्रो टोली पुग्दा एक जना डाक्टर र एक जना सिनियर अहेव र कार्यालय सहयोगी थिए भने अन्य कर्मचारी अनुपस्थित रहेका थिए । यो विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कार्कीलाई जानकारी गराउँदा सवै कर्मचारी कार्यालयमा रहेको भनेका थिए ।

तर, हाम्रो टोली स्वास्थ्य संस्थामा नै रहेकाले उनले कुरा लुकाउन पाएनन् । त्यस लगत्तै उनले कार्यालय प्रमुखलाई फोन गरेका थिए । उनले त्यही फोनमार्फत् आमसञ्चारकर्मीलाई समाचार मिलाएर लेखिदिन भन्न भ्याइहाले ।

निरन्तर हाम्रो निगरानी रहेको आमसञ्चारकर्मीको टोली पुनः ३ः३० बजे कार्यालय पुग्दा कार्यालयमा एक जना कर्मचारी वाहेक सवै अनुपस्थिति थिए । त्यस लगत्तै डाक्टर यादवलाई सम्पर्क गर्दा आफू ३ बजे नै निस्किएको बताए । उनले बिरामी नभएकाले आफू बेलैमा हिँडेको बताए । त्यस लगत्तै हाम्रो टोलीले उनको विषयमा निगरानी गर्दा उनी निजी स्वास्थ्य संस्थामा धाउने गरेको खुलेको हो ।

वर्थिङ सेन्टरसमेत सञ्चालनमा रहेको सो स्वास्थ्य संस्थामा अनिवार्य चिकित्सक बस्नुपर्ने हुन्छ । तर, रातिको त कुरै छाडौं दिउँसै स्वास्थ्य संस्थामा चिकित्सक नबस्दा सेवाग्राही मारमा परेका छन् ।

सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रसहित धुलावारी, शनिश्चरे, सुरुङ्गा, बनियानी, शिवगञ्ज र खजुरगाछी स्वास्थ्य केन्द्रले आकस्मिक सेवासहित बर्थिङ सेन्टर सञ्चालन गरेका छन् । १०देखि तीन बजेसम्म स्वास्थ्य संस्थाको ओपीडी सञ्चालन हुनुपर्ने र त्यसपछि रेकर्डिङ टिपोटिङको समय हो । कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म स्वास्थ्य संस्थालाई १०देखि ४ बजेसम्म सेवा प्रदान गर्न भनिएको छ । जाडोको समयमा एक घण्टा सेवा कम गर्न भनिए पनि अधिकांश स्वास्थ्य संस्थाका चिकित्सकले २ बजेपछि नै सेवा बन्द गर्ने गरेका छन् ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर