Aamsanchar

जुके कल्भर्टमा बढी दुर्घटना/ किन हुन्छ यसरी बारम्बार दुर्घटना ?

Author Image
बुधवार, पौष ५, २०७४

झापा।

गतमंसीर १ गते बालाचतुर्दशीका दिन अर्जुनधारा जलेश्वरधाममा सतवीज छरेर फर्कँदै गरेका दमक–३का ढकाल दम्पतीको पूर्व–पश्चिम राजमार्गको जुके कल्भर्ट सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ज्यान गयो । मे१प ९८९९ नम्वरको मोटरसाइकलमा सवार ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकाललाई वा३ख ८५८७ नम्वरको माइक्रोवसले ठक्कर दिँदा उनीहरुको ज्यान गएको थियो ।

झापा देशभरमा सुगम ठाउँ भनेर चिनिन्छ । धेरै जस्तो सवारी दुर्घटना दुर्गम स्थानका सडकहरुमा हुने गरेका समाचारहरु प्रकाशमा आउने गरेका छन् । अहिलेसम्मको प्रहरी तथ्यांकका आधारमा हेर्ने हो भने दुर्घटनामा मृत्यु हुनेहरुको संख्या सुगम स्थानमा भन्दा दुर्गममा नै बढी छ । तर, झापाको कनकाई नगरपालिका वडा नं. ८मा पर्ने जुके कल्भर्टमा सवैभन्दा बढी दुर्घटना हुने गरेको छ । यो मेची अञ्चलकै सवैभन्दा बढी दुर्घटनाग्रस्त क्षेत्र भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

जुके कल्भर्टमा करिब १९ बर्ष पसल गरेर बस्ने खेममाया अधिकारी त्यहाँ भएका दुर्घटनाको साक्षी छिन् । केही बर्ष अघि एक जना बाइकवालाको त्यहीँ दुर्घटनामा परेर मृत्यु भएको घटना उनले बिर्सिन सकेकी छैनन् । केही महिना अघि सुरुङ्गाकै एकजना बाइकवाला पनि त्यहीँ दुर्घटनामा परेर मृत्यु भएको लगायत त्यस्ता अनेकौं घटनाको विवरण अधिकारीले सुनाइन् । उनले भनिन्– ‘मैले यहाँबाट अनेकौं दुर्घटना देखेकी छु । १९ बर्षदेखि यहाँ सवारी साधन जुध्छन् । दिनदिनै यहाँ दुर्घटनाको संख्या बढ्दो छ ।’

अधिकारीका अनुसार साँघुरो सडक र छेउछाउमा मानिस हिँड्ने बाटोसमेत नभएकाले उक्त स्थानमा दुर्घटनाको जोखिम बढी छ । त्यसमाथि पनि जामुनखाडी सीमसार क्षेत्र जाने बाटो र राजमार्ग दक्षिणतिरका बस्ती जाने बाटो कल्भर्ट नजिकै भएकाले पनि दुईवटा गाडी वारपार हुन गाह्रो हुन्छ । एक किलोमिटर पूर्व र एक किलोमिटरकै दुरीमा पश्चिमसम्म सिधा बाटो भएकाले त्यस स्थानमा सवारी साधनको गति अति तीब्र हुने अधिकारीको भनाइ छ ।

जुके कल्भर्टमै विगत एकबर्षदेखि डेरी पसल सञ्चालन गरेर बसेकी पवित्रा अधिकारी पनि त्यस्ता दुर्घटनाको प्रत्यक्षदर्शी हुन् । उनले जामुनखाडी मान्छे लैजानका लागि बसेका ई–रिक्साका कारण पनि बढी दुर्घटना हुने गरेको छ । कतिवटा ई–रिक्सालाई त बसले उछिट्याई दिएका घटना पनि उनले सुनाइन् । उनका अनुसार त्यहाँ दुर्घटनामा पर्नेहरु हत्तपत्त बाँच्दैनन् । उनले भनिन्– ‘मेरो एकबषेको अनुभवमा यहाँ दुर्घटनामा परेकाहरु बाँचेका छैनन् । ‘स्पट डेथ’ नै भएका छन् ।’ उनी भन्छिन्– यो ज्यानमारा कल्भर्ट हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार उक्त स्थानमा दुर्घटनामा पर्नेहरु प्रायः बाँचेका छैनन् । ट्राफिक प्रहरीले त्यहाँ दुर्घटना रोक्नका लागि ड्रम लगायतका बस्तु सडकमा राखेर सवारी साधनको गति सीमित गर्न प्रयास गरे पनि सफल हुन नसकेको प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको तथ्यांक अनुसार जुके कल्भर्टमा गत साउन महिनायता ९ वटा दुर्घटना भएका छन् । त्यसमा ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना सख्त घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर