बिर्तामोड । सरकारी तलब भत्ता खाएपछि राज्यले दिएको जिम्मेवारी निर्वाह गर्नु हरेक कर्मचारीको दायित्व हो । तर, झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दुर्योधन यादवले आफ्नो काम, कर्तब्य भुल्दा जनताले स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुनुपरेको छ ।
मंगलवार पूर्वाञ्चलकर्मीले गरेको छड्के अनुगमनका क्रममा उक्त स्वास्थ्य संस्थामा डाक्टर नबस्ने र निजी क्लिनिक धाउने गरेको पाए लगत्तै बुधवारको अङ्कमा पूर्वाञ्चलमा ‘प्राथमिक स्वास्थ्य केन्द्रमा बस्दैनन् डाक्टर’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । बुधवार सो स्वास्थ्य संस्थामा पुनः अनुगमनका लागि ९ः३० बजे पूर्वाञ्चलकर्मी पुग्दा स्वास्थ्य संस्थाको मूल गेटमा ताला लगाइएको थियो ।
आकस्मिक सेवासहित २४सैं घण्टा सञ्चालनमा आउनुपर्ने सो स्वास्थ्य केन्द्रमा ताला लगाइएका कारण बिहानैबाट सेवाग्राही समस्यामा परेका थिए । सँधै खुल्ला रहनुपर्ने स्वास्थ्य केन्द्रमा डाक्टर त परै जाओस् एक जना पनि कर्मचारी नबसी स्वास्थ्य केन्द्रको मूलगेटमा नै ताला लगाएपछि वुधवार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा सेवा लिन आएका एक सेवाग्राहीलाई आफै १५ सय रुपैयाँ खर्च दिएर एम्वुलेन्स बोलाएर मेची अञ्चल अस्पताल भद्रपुर पठाएका थिए ।
सडकमा छट्पटाई रहेका एक व्यक्तिलाई सर्वसाधारणले प्राथमिक उपचारका लागि एम्वुलेन्समार्फत स्वास्थ्य केन्द्र ल्याएका थिए । स्वास्थ्य केन्द्र आइपुग्दा स्वास्थ्य केन्द्रको मूलगेटमा ताला लगाएको पाएपछि उनीहरुले बिरामीलाई एक घण्टा भुँइमा राखेर चिकित्सकको खोजी गरेका थिए ।
बिरामी ल्याएको एक घण्टासम्म स्वास्थ्य केन्द्रको ताला नखुलेपछि कनकाई नपा वाड नम्वर ३का अध्यक्ष रुद्रप्रसाद चिमरिया, नगरपालिकाका प्रमुख पोखरेल आफै स्वास्थ्य केन्द्रमा आएका थिए । उनीहरु आएपछि मात्रै स्वास्थ्य संस्थामा लागेको ताला १०ः३० बजे खुलेको थियो । तर, ती बिरामीले त्यहाँ प्राथमिक उपचारसम्म पाउन सकेनन् । अन्ततः नगरप्रमुख आफैले एम्वुलेन्स बोलाएर बिरामीको उपचारका लागि मेची अञ्चल अस्पताल पठाउनु परेको थियो ।
यसैबीच नगरपालिकाका प्रमुख पोखरेलले सेवाग्राहीलाई सेवा दिन नसक्ने कर्मचारी र डाक्टर जो कोहीलाई पनि तत्काल कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । उनले स्थानीय निकायसँग स्पष्ट कानून नभएकाले यस विषयमा आवश्यक छलफल गरेर निर्णय गरिने बताए । उनले उक्त स्वास्थ्य संस्थामा केही डाक्टर र कर्मचारीले राम्रोसंग काम गरे पनि केही भने काम चोर प्रवृत्तिका रहेकाले उनीहरुलाई पटक–पटक सचेत गराएको र अब कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।
उनले सरकारी कार्मचारीले काम नगरेको विषयमा खोजी–खोजी निगरानी गरिदिन पत्रकारलाई आग्रह समेत गरे । जनताले स्वास्थ्य सेवा पाउनुपर्ने उसको नैसर्गिक अधिकार भए पनि सरकारीमा तलब खाएर निजीमा धाउनु सरासर राज्यलाई चुनौति दिएको पोखरेलको भनाइ छ । उनले छिट्टै स्थानीयस्तरमा भए पनि कानून बनाएर जनताको काम कर्तब्य भुल्ने जो सुकैलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
उता जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी देवराज कार्कीले सबै अधिकार स्थानीय निकायमा भएकाले जनस्वास्थ्यले केही गर्न नसक्ने बताए । उनले काम नगर्ने डाक्टरलाई तत्काल कारबाही गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्थानीय निकायसँगको समन्वयमा झापामा सबै स्वास्थ्य संस्थाको अनुगमन गर्ने भन्दै कार्कीले– काम नगर्ने कर्मचारीको तलब भत्ता रोक्नुपर्ने बताएका छन् । उनले सबै स्थानीय निकायलाई आफ्नो क्षेत्रका स्वास्थ्य संस्था तथा कर्मचारीहरुको निगरानी गर्न पनि सुझाव दिएका छन् ।
यता किन बर्थिङ सेन्टर बन्द भयो भनेर सोध्दा डाक्टर यादवले भने– सूचना चाहिए सूचनाको हकसँग सम्वन्धित नियमावली छ, के सूचना चाहिएको निवेदन लिएर आउनुहोस् ।’ जनचासोका विषयमा सूचना माग्दा समेत डा. यादवले जवाफ नै नदिई पन्छिएका थिए । उनीसँग गरिएको कुराकानीको श्रव्य दृष्य सामग्री पूर्वाञ्चल दैनिकसँग सुरक्षित रहेको छ ।
यसै विषयमा पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. महेश खनालसंग सम्पर्क गर्दा उनले स्वास्थ्य केन्द्र प्रमुख डा. यादवलाई तत्काल स्पष्टीकरण लिने र चित्त नबुझे निलम्वन समेत गरिने बताएका छन् । झापाका स्वास्थ्य संस्थाहरुको तत्काल अनुगमन र निरीक्षण गर्दै उनीहरुको काम कर्तव्यको निगरानी गरिने उनले बताए ।
उता स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तसँग यस विषयमा कुराकानी गर्न टेलिफोन सम्पर्क गर्दा आफू वैठकमा रहेको र भोलि विहीवार यस विषयमा कुराकानी गर्ने बताएका छन् ।


