Aamsanchar

ओली र मोदीद्वारा आआफ्ना मुलुकमा भ्रमणको निम्तो

Author Image
बिहिवार, पौष ६, २०७४

भक्तपुर,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा आज बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको छ ।

अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिनुभएको हो । भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभएको जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभएको थियो ।

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई आफूलाई प्राप्त बधाई तथा शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । “यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ ”, नेता ओलीले भन्नुभयो ।

प्रतिनिधिसभामा नवनिर्वाचित सांसद ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिनुभएको थियो ।

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर