उर्लाबारी ।

बान्तावा राईको मातृभाषामा प्रकाशित मासिक पत्रिका बुङ्वाखाको १३ औ वार्षिकउत्सव तथा तेह्रौ बान्तावा कविता प्रतियोगिता आज मोरङ्को उर्लाबारीमा सम्पन्न भएको छ ।

किरात राई यायोक्खा नगर कार्य समितिका उर्लाबारीका अध्यक्ष केशरमान राईको अध्यक्षतामा आयोजित कार्यक्रममा बार्षिकउत्सवको अवसर पारेर बुङ्वाखा विष्णु मकर बान्तावा राष्ट्रिय पुरस्कार २०७४ बाट सानङ्वा एवाई पुरस्कृत हुनुभएको छ भने बुङ्वाखा पञ्चकुमारी संगीत पुरस्कार २०७४बाट राष्ट्रिय गायिका आभा मुकारुङ, बुङ्वाखा रनमाया चेन्चेक्वा पुरस्कार २०७४ बाट राजेन्द्र राई र बुङ्वाखा धनेन्द्र बादिहाङ पुरस्कार २०७४ बाट अलग बहादुर सोङ्मेन पुरस्कृत हुनुभएको छ ।

त्यसैगरि बान्तावा कविता प्रतियोगितामा भोजपुरका बन्दना राई प्रथम, पाचथरका इन्द्र मुकारुङ डाक्बुङ द्धित्तिय र भोजपुरका विजय ग्वाले तृतिय हुनुभएको छ । उहाहरुलाई आयोजकले क्रमश नगद १०, ६ र ४ हजार रुपैयाँ सहित प्रमाणपत्रद्धारा सम्मानित गरिएको सञ्चारकर्मी रविकिरण बान्तावाले जानकारी दिनुभएको छ ।

उहाका अनुसार सोहि कार्यक्रमको अवसरमा बुङ्वाखा दमक संवाददाता धनजित रुङ्माहाङ र मोरङ संबाददाता हर्क साम्पाङ राईलाई प्राध्यापक डाक्टर नोवल किशोर राईले सायाबुङ र आभारपत्र प्रदान गर्नुभएको थियो ।
विभिन्न क्षेत्र र ठाँउमा छरिएर रहेका बान्तावा राईहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक तथा पत्रिकाका सम्पादक पदम राईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रिता राराहाङ र असिम बान्तावाले गर्नुभएको थियो ।

