Aamsanchar

कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हटाइयो

Author Image
आइतवार, पौष ९, २०७४

कालीकोट, 

म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्ेका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समयसम्मका लागि मात्र कफ्र्यु हटाइएको बताउनुभयो ।

पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच बिहान १० बजे छलफल शुरु हुने र मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रजिअ गैह्ेले सोका लागि सबैलाई अनुरोध गर्नुभएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नुका साथै ढुंगामुडा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो । अहिले अवस्था सामान्य रहेको छ ।

नागरिक समाज र सरोकारवाला निकायले सरकारले पीडित पक्षका माग सम्बोधन गरेकाले अब प्रक्रिया पुराएर शव बुझेर आन्दोलनलाई स्थगन गर्ने बताएका छन् । नागरिक समाजका प्रवानन्द आर्चायले केन्द्रबाट अनुगमन टोली आएपछि निर्णयमा पुगेर मात्र शव बुझ्ने बताउनुभएको छ ।

समस्या समाधानका लागि शनिबार क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका डिआइजी सूर्यविक्रम शाह, अनुसन्धानका डिआइजी टेकेन्द्र शाक्यको समेत उपस्थिति रहेको थियो । पीडित पक्ष, जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दलले जिल्लामा मात्र सहमति गरी नहुने भएपछि मन्त्रालयबाट पनि निर्देशन आउनुपर्ने बताएपछि बैठक स्थगित भएको थियो ।
म्यादी प्रहरीले पाउने पारिश्रमिकका बारेमा केही नबोलेका कारण सोकोसमेत छानबिन हुनुपर्ने नागरिक समाजले अनुरोध गरेका छन ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर