झापा,

झापाको राष्ट्रिय राजमार्गमा सिटी सफारी [इ–रिक्सा] प्रतिबन्ध लगाउन व्यवसायी तथा चालकलाई ट्राफिक प्रहरीले सात दिनको अल्टिमेटम दिएको छ।

पूर्वपश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घटना न्युनीकरण गराउने उद्देश्यले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले पुस ७ गतेदेखि राष्ट्रिय राजमार्गमा सिटी सफारी चलाउन नपाइने सार्वजनिक सूचना जारी गरेको थियो।
सोही सूचना र आदेश बमोजिम जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले पनि राष्ट्रिय राजमार्गमा सिटी सफारी प्रतिबन्ध लगाउने अभियान सुरु गरेको हो। राजमार्गमा सिटी सफारी प्रतिबन्ध लगाउने बारेमा बिर्तामोडमा शनिबार सर्वपक्षीय छलफल समेत गरिएको छ। छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात कार्यालय मेची, इलाका प्रहरी कार्यालय बिर्तामोड, सिटी सफारी चालक संघ, टेम्पो सवारी चालक संघ, मजदुर ट्रेड युनियन लगायतको सहभागिता रहेको थियो।

सर्वपक्षीय छलफलमा पूूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जारी गरेको निर्णयलाई ध्यानमा राख्दै झापामा सिटी सफारी चालकलाई सात दिनको थप समय दिएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख राजेश राईले जानकारी दिए। उनका अनुसार बैठकमा सिटी सफारी र टेम्पो चालकले प्रहरीसँग सात दिन समय माग गरेका छन्।
सात दिनपछि उनीहरुले बैठकको निर्णय पालना गर्दै वैकल्पिक सडक प्रयोग गर्ने राईले बताए। ुसात दिनपछि झापाको राष्ट्रिय राजमार्गमा सिटी सफारी चलाउन पाइने छैनु, उनले भने, ‘त्यसपछि राजमार्गमा प्रहरीले अभियान थाल्नेछन, अभियान विपरीत त्यस्ता साधन चलाएको पाइए कडा कारवाही गरिनेछ।’ पूर्वपश्चिम राजमार्ग अन्तरगत काकँडभिट्टा, धुलावारी, चाराआली, बिर्तामोड, सुरुङ्गा, झिलझिले र दमक क्षेत्रमा सिटी सफारी प्रतिबन्ध लाग्नेछ।
यता सिटी सफारी चालकहरुले भने आफुहरुलाई गरी खान दिनुपर्ने भन्दै बसैले आफ्नो रोजीरोटी खोस्ने प्रयत्न गर्न भने त्यसको प्रतिकार गर्ने बताएका छन् । उनीहरुले आइतबार यातायात कार्यालय मेचीमा पुगेर ध्यानाकर्षण गराएका छन् ।

