तेह्रथुम,

तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । केन्द्रको स्थापनाले ढाका बुनेर जिविकोपार्जन गर्न विपन्न समुदायका महिलालाई सहज भएको छ ।

गरिबी निवारण कोष अन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग र देउराली सोसाइटी तेह्रथुमको सहजीकरणमा केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र स्थापनाका लागि ८ लाख ६ हजार १ सय रुपैयाँ खर्च भएको म्याङलुङ ढाका उत्पादक समूहका अध्यक्ष सचित्रा लिम्बूले बताउनुभयो ।

केन्द्रमा दश जना महिलाहरुलाई उद्यमी बन्न प्रेरित गर्दै ढाका बुनाई तालिमसमेत प्रदान गरिएको छ । उद्यमीहरुका बीचमा ढाका कपडा उत्पादन, बजारीकरण, सीप र प्रविधि विकास तथा पुस्ता हस्तान्तरणका विषयमासमेत छलफल हुन थालेको छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका १ सय ६५ जनालाई ढाका बुनाई सम्बन्धी तालिम प्रदान गरी उद्यमी बनाइएको कार्यक्रम संयोजक प्रेमराज लिम्बूले बताउनुभयो ।

