Aamsanchar

कहाँ छ नियमनकारी निकाय ? सार्वजनिक स्थलमा खुलेआम मदिरा बिक्री

Author Image
मङ्गलवार, पौष ११, २०७४

(अमित खम्बु)

अर्जुनधारा।

सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको जथाभावी बिक्रीले सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसालगायतका घटनाहरुमा समेत वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ ।

समाजमा अवाञ्छित गतिविधि गराउन सहयोग पुग्ने र मानव स्वास्थ्यको लागि हानिकारक रहेको मदिराजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सञ्चालन हुने अभियान, गोष्ठी, तालिम लगायतका कार्यक्रमहरु केवल देखावटीमा मात्र सीमित भएको पाइन्छ । यसैबीच झापाको अर्जुनधारा–९ सालबारीस्थित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यानमा सोमबार पत्रकार पुग्दा उद्यानभित्र सञ्चालनरत् पसल र उद्यान परिसर नजिक मदिराजन्य पदार्थको जथाभावी बिक्री वितरण भइरहेको भेटियो ।

उद्यानभित्र सञ्चालनरत् पसलमा गोप्यरुपमा बिक्री गरेको मदिराजन्य पदार्थ उद्यान परिसर नजिक भने खुल्ला बिक्री भइरहेको थियो । उद्यानको नियम विपरीत उद्यानभित्र पसल सञ्चालकले गोप्य तरिकाबाट त्यसरी मदिराजन्य पदार्थको बिक्री गर्नु गलत भएको उद्यान व्यवस्थापन समितिले स्वीकारेको छ । आगामी दिनमा उद्यानभित्र मात्र नभई उद्यान परिसर नजिक रहेको पसलहरुमा समेत अनुगमन गर्ने र कमजोरी फेला परे सम्बन्धित निकायसँग समन्वय गरी नियन्त्रणका कार्यहरु सञ्चालन गरिने बताइएको छ ।

त्यसैगरी शनिश्चरे प्रहरी चौकीका असई सुरेशकुमार निरौलाले सार्वजनिक स्थलमा जथाभावी बिक्री गरिने मदिराजन्य पदार्थ नियन्त्रणको लागि प्रहरी एक्लैको प्रयासले सफल नहुने बताए । यसको नियन्त्रणको लागि स्थानीय र सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा असई निरौलाको जोड रहेको थियो । ‘नियन्त्रणमा लिएपश्चात् विभिन्न व्यक्तित्वहरुबाट पटक–पटक आउने फोन कल हाम्रो लागि थप चुनौति हो’– उनले भने ।

यता यस विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा उनले नगरपालिकाले नियन्त्रण गर्न नसक्नुभन्दा पनि हिजोदेखि चल्दै आएको परम्परा तत्काल परिवर्तन गर्न असम्भव र लामो समयसम्मको संक्रमणकालका कारण समस्या समाधान गर्न नसकेको बताए ।

Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर