बिर्तामोड।
झापासहित प्रदेश नं. १मा गत असोजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । तर, सवारीचालक र यातायात व्यवसायीले अटेरी गर्दा घोषणा गरिएको यतिदिन बित्दा समेत हर्न निषेध क्षेत्र कार्यान्वयन हुन सकेको छैन ।
यातायात व्यवसायी र सवारीचालकले ट्राफिक प्रहरीलाई आफूहरुसँग सहकार्य नगरी पूर्व क्षेत्रलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको बताउँदै आएका छन् भने ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई सवारीचालकले अटेरी गर्दा अभियान सफल हुन नसकेको जनाएको छ ।
ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच चलेको जुहारीले प्रदेश नं. १मा घोषणा गरिएको हर्न निषेध अभियान सफल हुन सकेको छैन । यातायात व्यवसायी र चालकको गुनासो बढेपछि ट्राफिक प्रहरीले पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा हर्न निषेध घोषणा कार्यान्वयनका लागि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ । जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै होर्डिङ बोर्ड राख्न शुरु गरिएको हो ।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले शनिबार काँकरभिट्टाबाट सवारीको छड्के जाँच गरेका छन् । उनले हर्न निषेध अभियानलाई सफल बनाउन सहयोग पुर्याइदिनु चालकलाई आग्रह गर्दै अटेर गरे सवारी चालकलाई कारवाही गर्ने चेतावनी दिए । उनले पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टादेखि बिर्तामोडसम्मका प्रत्येक चोकमा छड्के जाँच गरेका छन् ।
सो क्रममा केही सवारीसाधनलाई कारवाही समेत गरेका छन् । प्रहरीले गरेको आग्रहलाई वेवास्ता गर्दै नियम उल्लंघन गर्ने केही सार्वजनिक सवारीका चालक कारवाहीमा परेका छन् ।
सडक सुरक्षा सप्ताह जारी
पुस ५ गतेबाट शुरु भएको सडक सुरक्षा सप्ताह जारी रहेको छ । दिनानुदिन झापामा शहरी क्षेत्रमा दुर्घटना बढेको र मत्यु हुने मानिसको संख्या समेत बढेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित शुरु गरिएको सडक सुरक्षा सप्ताह अन्तर्गत सोमबार बिर्तामोडमा फोटो प्रदर्शन गरिएको छ ।
सवारी दुर्घटना हुँदा खिचिएका तस्वीरहरु मुक्तिचोक अगाडि प्रदर्शन गरिएको थियो । सवारीचालकलाई चेतना अभिवृद्धिका लागि फोटो प्रदर्शनी गरिएको जिल्ला ट्राफिक प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिए । ११ गतेसम्म सञ्चालन हुने सडक सप्ताह कार्यक्रमको उद्घाटनका दिन बिर्तामोडमा प्रभातफेरीको आयोजना गरिएको थियो । ६ गते झापाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो ।
७ गते विद्यालय र समुदायमा ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । ८ गते स्वयम्सेवक परिचालन गर्दै सडक सुरक्षा सम्बन्धी जानकारी गराइएको थियो । ९ गते निबन्ध लेखन प्रतियोगिता र आज पुस ११ गते सडक सप्ताह कार्यक्रम समापन तथा पुरस्कार वितरण गरिने बताइएको छ ।