Aamsanchar

विश्व कीर्तिमानी झापाका अर्पण शर्मालाई ज्यान मार्ने धम्की

Author Image
मङ्गलवार, पौष ११, २०७४

झापा ।

तीन महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनाव डुबिरहेको विश्व कीर्तिमानी युवा अर्पण शर्माले बताएका छन् । उनका अनुसार ती व्यक्तिले अर्पणको ज्यान लिनेसम्मको धम्की दिइरहेका छन् ।

फेसबुकमा निकै लामो स्टाटस लेखेर अर्पणले उक्त कुराको खुलासा गरेका हुन् । स्मरण शक्तिमा विश्व कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाएका झापा भद्रपुर घर भएका अर्पण हाल काठमाडौँमा बस्दै आएका छन् । ‘मेरो भाइलाई पटक–पटक फोन गरेर ती व्यक्तिले धम्क्याउँदै छन्,’ अर्पणले भने, ‘त्यही धम्कीका कारण बुबाआमाको आँखामा आँसु देख्दैछु, आँसुले मलाई भावनात्मक रुपमा कमजोर बनाइरहेको छ ।’

झापा स्थाई बसोबास भएका अर्पण विश्व कीर्तिमान कायम गरेयता काठमाडौँमै बस्दै आएका छन् । बाबुआमालाई पनि अर्पणले नै झापा नबस्न आग्रह गर्दै गत बैशाखमा काठमाडौँ लगेका थिए । ‘काठमाडौँमा मसँगै राखेर खुसी दिने सपना बोकेको थिएँ,’ अर्पणले भने, ‘तर, काठमाडौँ आएदेखि उहाँहरुलाई तनावबाहेक केही छैन ।’

धम्की दिने सबैलाई आफूले राम्ररी चिनिसकेको अर्पणको दाबी छ । उनले सबैको नाम प्रहरीमा दिएका छन् । प्रहरीले उनलाई नाम सार्वजनिक नगर्न भनेको छ । अर्पणको अनुमानमा धम्की दिने ती व्यक्तिहरुमध्ये एउटा बोस हुन सक्छ । बाँकी सबै उसका चेलाहरु हुन सक्ने उनले बताए । उसले आफ्नो दूतहरुबाट भयानक सन्देशहरु पठाउँदै छ, यहीँ बीचमा दूतहरुबाट धेरै चेतावनीहरु पनि आए,’ उनले भने ।

ती व्यक्तिले आफूलाई सिधै सम्पर्क नगरे पनि भाइलाई हप्तामा हप्ता ४ पटकसम्म फोन आउने गरेको अर्पणले सुनाए । ‘आज बिहान पनि फोन आएको थियो,’ नयाँ पत्रिकासँग अर्पणले भने, ‘अर्पणलाई मिडियाले साथ दिएला तर, हामी अघि बढ्छौँ भन्दा रहेछन् ।’

केही दिनयता आफ्नो जीवनमा धेरै अवरोधहरु आउन थालेको अर्पणको भनाइ छ । धम्की दिने व्यक्ति आफैँ कहिल्यै अगाडि नआएर ‘चम्चा’ मात्रै परिचालन गरेको भन्दै अर्पणले उसलाई ‘मुसा’को संज्ञा दिएका छन् ।

‘मलाई चाहे उसले मारोस्, काटोस्, गुन्डा लाओस्, जेसुकै गरोस् तर, म आफ्नो स्वाभिमान त्याग्दिनँ,’ अपर्ण भन्छन्, ‘मलाई मर्न कहिल्यै पनि डर लाग्दैन थियो र लाग्ने पनि छैन, एक न एक दिन सबैले आखिरमा मर्नु नै छ, ढिलो चाँडोको कुरा मात्रै हो । कायर भएर बाँच्नुभन्दा साहसी भएर मर्नु जाती ।’

आफूमाथि आएका सबै धम्कीको भोइस रेकर्ड सुरक्षित रहेको अर्पणले बताए । लुकेर होइन, अगाडि आएर छातीमा गोली हानेर मार्न उनले चेतावनीसमेत दिएका छन् । धम्कीका कारण अर्पण चिन्तित छन् । केही तलमाथि भइदिएमा देशलाई धेरै कुरा दिनबाट आफू चुक्ने उनले बताए । त्यसका लागि उनले सबैमा क्षमा पनि मागिसकेका छन् ।

‘आगामी दिनमा राख्न लागेका विश्व रेकर्डहरु, देशलाई शिक्षाको क्षेत्रमा विश्वमै अब्बल बनाउने योजनाहरु, नेपाली युवाहरुलाई विश्वकै ट्यालेन्ट बनाउने मेरा भिजनहरु, मैले यत्रो वर्ष ध्यान तपस्या गरेर आर्जेको अपार मानसिक शक्ति र त्यसबाट आउने चमत्कारिक परिणामहरु म मेरो देशलाई दिन नसकूँला,’ उनले भने, ‘त्यसको लागि म मेरा सबै शुभचिन्तक र देशबासीहरुसँग अहिले नै क्षमा माग्न चाहन्छु ।’

यो वर्ष १ लाखवटा नम्बर याद राख्ने उनको योजना थियो । पानीमुनि सास बन्द गरेर दुई बुक तास याद गर्ने योजनामा थिए अर्पण । तर, धम्की आउन थालेपछि आफू असमर्थ भएको उनले सुनाए । आगामी वर्षहरुमा धेरै बौद्धिक विश्व रेकर्डहरु राखेर मुलुकलाई विश्व समुदायमा फरक किसिमले चिनाउने उनको योजना छ ।

‘आज आएर बुझ्दैछु प्रतिभा भएका युवाहरु किन बिदेसिन्छन भन्ने,’ उनले भने, ‘राम्रो काम गर्ने मान्छेलाई अनेकौँ बाधा अड्चन सिर्जना गरी निसासिने वातावरण बनाएपछि के नै पो गरुन ? नयाँपत्रिकाबाट साभार

Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर