Aamsanchar

कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै

Author Image
बुधवार, पौष १२, २०७४

[वासुदेव पौडेल ]

पोखरा, 

“रहन सहन वा भाषा भेष
फरक भए तापनि यो देश ।
सबको प्यारो मंगल माली
यसका जनता हामी नेपाली ।।”

परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ ।

सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत बनाउन प्रेरणा दिने असंख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती मनाउनका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था यतिखेर त्यसको तयारीमा लागेका छन् ।

प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ ।

कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा विगत पाँच वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइसकिएको छ ।

समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ । “अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएसँगै यो स्थल नै कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको थियो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार जन्मस्थलको संरक्षणका साथै कवि कवयित्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर अघि बढिएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गर्न लागिएको छ ।

कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घाैं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ ।

लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुभयो ।

समिति गठन भएयता पाँच वर्षको समयमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट लगभग रु ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान आदिसमेतका आधारमा लगभग रु दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको लामिछानेले जानकारी दिनुभयो ।

सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि संग्र्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौं अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य रहेको समितिका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।

समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारेको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको सोच रहेको सचिव पौडेलले जानकारी दिनुभयो ।

“अर्घौं अर्चले आउने जो कोही पर्यटक वा साहित्यानुरागी यहाँ बसेर साहित्य सिर्जना गर्न चाहन्छ भने यसलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने हाम्रो सोच हो”, उहाँले थप्नुभयो ।

लेखनाथको जन्मस्थललाई नेपाली साहित्यको अध्ययन तथा अनुसन्धानस्थलका साथै साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ काम अघि बढिरहेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । “अनुसन्धाताका साथै देशका विभिन्न भागबाट पोखरा भ्रमणमा आउने पर्यटकलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर