Aamsanchar

मिर्गौला पीडित महिला पत्रकार माया पकुवालको लागि सहयोग अपिल

Author Image
बुधवार, पौष १२, २०७४

 

झापा ।

दुवै मिर्गौला ड्यामेज भएर उपचाररत बरुण सप्ताहिकका सम्पादक माया पकुवाललाई नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ ।

 

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि जान लागेकी पकुवाललाई सञ्चार गृहले बुधबार बिहान उनकै निवासमा पुगेर सहयोग प्रदान गरेको हो । उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृह झापाका अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, कोषाध्यक्ष सुशीला संग्रौला, सदस्यद्वय रेजिना गौतम र लीला अनमोलले बुधबार बिहान उनकै निवासमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

पकुवाल नारी सञ्चार गृहकी सदस्य हुन् । पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिने भएका छन् । सौरभको मिर्गौला पकुवालमा प्रत्यारोपण गर्न मिल्ने भए पछि सो को तयारीस्वरुप आज काठमाडौं गएका छन् । १५ वर्षदेखि पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए । टाउको दुख्ने र रिङ्गटा चल्ने समस्या भएपछि २०७४ वैशाखमा धरानस्थित वीपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् ।

उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उनलाई औषधी खान सुझाव दिएका थिए । औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मिर्गौला प्रात्यारोपण गर्न सल्लाह दिएको पति सञ्जयले बताए । चिकित्सकको सल्लाह बमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि माया गएकी हुन् ।

रोगको डाइग्नोसिससहितका कामका लागि हालसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपील पनि गरेको छ । चिकित्सकले मायाको उपचारमा १५ लाख रुपैयाँ हाराहारी खर्च लाग्ने बताएको पति सञ्जयले जानकारी दिएका छन् । आफ्नो पत्रिकामार्फत् धेरै दिनहीनहरुको उपचारमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पत्रकार माया पकुवाल स्वयम् आज गम्भीर स्वास्थ्य समस्यामा रहेकाले समाजका हरेक क्षेत्रबाट उनको उपचारमा यथाशक्य सहयोग गर्न हामी पनि अपील गर्दछौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर