[पार्थ मण्डल]

भद्रपुर,

मुलुकमा चार जना प्रधानमन्त्री फेरिए पनि झापाको भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारिवासीको वर्षाैंदेखि सपना अझै पूरा भएको छैन। गाउँमा बिजुली आए पनि पुल नबन्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ।
भारतीय भूमिसँग जोडिएको मेची नदीपारि टापु आकारको सानो गाउँलाई भद्रपुरसँग जोड्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा एउटा योजना अघि सारेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सत्ता सम्हालेको सरकारले मेचीपारिवासीको सेवा सुविधालाई मध्यनजर गर्दै मेची नदीमा झोलुंगे पुल निर्माणका लागि बजेट निकासा गरेको थियो। नदीमा झोलुंगे पुल बन्ने दशकौँदेखिको सपना पूरा हुन लागेपछि मेचीपारिका १४० घर परिवारमा खुसियाली छायो।

तर, मेचीपारिवासीको खुसीयालीलाई निर्माण कम्पनीले ग्रहण लगाइदिएका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ गते एक भव्य समारोहका बीच पुलको शिलान्यास गर्दै समयमा काम सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई जानकारी गराए पनि त्यसले निरन्तरता पाउन नसक्दा स्थानीयमा फेरि निराशा छाएको छ। निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने झोलुंगे पुलको काम २८ महिनामा पनि सकेको छैन। ठेकेदारले निर्माण कार्य अलपत्र छाडेर बेपत्ता बनेपछि अहिले स्थानीय नदी तर्न बाध्य छन्।
हिउँदमा त नदी तर्दा समस्या छैन तर बर्खाको तीन महिना स्थानीयको आवतजावत नै ठप्प हुन्छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट यो पुल बन्न लागेको हो। भ्याटसहित दुई करोड ८५ लाख ९८ हजार २५९ रुपैयाँमा नीलगिरि सेवा प्रा.लि. बानेश्वर काठमाडौंले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो। २८० मिटर लामो र १३ मिटर चौडाइसहितको यस पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुनेगरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए।
तोकिएको समय अवधि सकिएर १० महिना बढी भइसकेको छ। अहिले निर्माणस्थलमा एउटा टहरामा दुई चार जना कामदार बस्दै आएका छन्। दुईवटा पिलरको काम अधुरो छाडिदिएका छन्। पुलको लागि ल्याएका सामग्री खिया लाग्न र सिमेन्ट डल्लो पर्न थालिसकेको छ तर ठेकेदारको अत्तोपत्तो छैन। यसतर्फ झापाका सम्बन्धित निकायले समेत बेवास्ता गरेको प्रति स्थानीयले गुनासो पोख्न थालेका छन्।
दशैँअघि दुईवटा पिलरको अधुरो काम सकेर बेपत्ता भएका ठेकेदार अहिलेसम्म देखा नपरेको स्थानीय हावालालसिंह राजवंशीले गुनासो पोखे। ‘तीन वर्षदेखि पिलर उठाउने काम मात्र भइरहेको छ’, उनले भने, ‘कसको कमजोरी हो बुझ्नै सकेका छैनौँ। फेरि बर्खा आउन केही महिना मात्र बाँकी छ, हाम्रो पीडाको सुनवाइ हाल भएन उनले थपे। दुई महिना काम हुन्छ भने चार महिना बन्द हुने स्थानीय मिस्त्री राजवंशीले बताए।
‘एक वर्ष आफैँले पुलको रेखदेखको जिम्मा लिएर हेर्दे आएका थियौँ’, उनले भने, ‘तर कामले निरन्तरता नपाएपछि हेर्ने जिम्मेवारी छाडिदिएँ।’ ठेकेदारले सामान ल्याउने र लैजाने काम मात्र गर्दै आएको उनको भनाइ छ। ‘कहिले ठेकेदारको मान्छे आउँछ, कहिले जान्छ, गाउँवासीलाई केही थाहा हुँदैन’, उनले भने। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् ठेक्का लागेकाले झापाका स्थानीय तहले हस्तक्षेप गर्न मिल्दैन भन्ने जानकारी आउने स्थानीयको भनाइ छ।

