[शान्तिराम बस्नेत]
शिवसताक्षी,

“हामी सबैको एउटै अपेक्षा, समृद्ध समाजका लागि गुणस्तरीय शिक्षा” भन्ने नाराका साथै शैक्षिक अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ ।
शिवसताक्षी नगर स्तरीय शैक्षिक व्यवस्थापन र विद्यालय शिक्षाको गुणस्तर प्रवर्धनका लागि अन्तरक्रिया तथा छलफल भएको हो ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवा (लिम्बु)को प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा क्षेत्र नं. ४ का प्रदेश सभाका सभासद्द्वय झलकसिंह दर्लामी ‘सन्देश” र हिरा थापा, जिल्ला शिक्षा अधिकारी योगेन्द्र प्रसाद बराल लगायतले यस अन्तरक्रियाबाट निस्केका निष्कर्षलाई नगरपालिकाले सकरात्मक सोंचका साथ अगाडि बढाउन आग्रह गरे ।

शिवसताक्षी नगरपालिका, शिक्षा शाखाको आयोजनामा शैक्षिक अन्तरक्रिया पश्चात उक्त नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक व्यवस्थापन र विद्यालय शिक्षाको गुणस्तर प्रवद्र्धन गर्न २० बुँदे प्रतिवद्धता पत्रमा शिक्षाका सरोकारवालाहरुले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गरिएका प्रतिवद्धताहरुमा सेवा क्षेत्र भित्र बिद्यालय जाने उमेर समुहका सबै बालबालिकाहरुलाई अनिबार्य रुपमा बिद्यालयमा भर्ना गरिने, कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोगलाइ अनिवार्य बनाइने, बिद्यालयमा बाल पुस्तकालय तथा सिकाइ कक्षाको व्यवस्थापन गरिने, बिद्यालयको सुरु कक्षा देखि क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठन गराइने, बिद्यालयमा बालमैत्री शिक्षण सिकाइ बातावरण तयार गरिने, प्रत्येक परीक्षा पर्यन्त परीक्षण गरिएका उत्तरपुस्तिकाहरु बालबालिकालाई अध्ययन गर्न फिर्ता गरिने बताइएको छ ।
शिक्षण सिकाइ प्रक्रियामा आइ.सि.टी.को प्रयोगलाई बिस्तार गरिने, प्रत्येक शुक्रवार अतिरिक्त तथा सह क्रियाकलाप गराइने, बालबालिकालाई गुणस्तरीय दिवा खाजा उपलव्ध गराइने, अभिभावकको सहभागिता बढाउन अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने, बिद्यालयका सबै क्रियाकलाप प्रस्तुत गर्न बार्षिक रुपमा स्वेतपत्र जारी गरिने गृहकार्यलाई अनिवार्य बनाइने, प्रत्येक शिक्षकहरु बाट शैक्षिक योजना निर्माण गरि कार्यान्वयन गरिने, शिशुकक्षा देखि कक्षा दुईसम्म वर्ग शिक्षण विधिको अवलम्बन गरिने, शिक्षक तथा बिद्यार्थीको उपस्थिति दर बढाइने, शिक्षक तथा प्रधानाध्यापकलाई बालबालिकाको सिकाइ उपलव्धिप्रति जवाफदेहि बनाइने, तोकिए बमोजिम अनिबार्य रुपमा प्रयोगात्मक कक्षा सञ्चालन गरिने, बिद्यालय तथा कक्षा सञ्चालनमा तोकिएको समयको पूर्ण पालना गरिने, बालबालिकाको उच्च सिकाइ उपलव्धि हासिल गर्ने शिक्षक, बिद्यार्थी समेतलाई प्रोत्साहन गरिने, बिद्यालयले बार्षिक शैक्षिक कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिने रहेका छन् ।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण दूधे स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारी तथा शिवसताक्षी नपाका कार्यकारी अधिकृत पंकज भुर्तेलले गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, नपाका सम्पूर्ण वडाका वडाध्यक्षहरु, नगरपालिकाभित्रका ३६ वटै सामुदायिक विद्यालयका प्रअहरु तथा संस्थागत विद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । अन्तरक्रियालाई ६ समूह विभाजन गरी शैक्षिक गुणस्तरका लागि छलफल गराइएको थियो ।
दूधेस्थित आदिवासी जनजातिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शर्माको अध्यक्षता, उपमेयर भोजकुमारी नेपालको स्वागत रहेको कार्यक्रमको सञ्चालन मोती माविका प्रधानाध्यापक खगेन्द्रप्रसाद अधिकारीले गरेका थिए ।

