बिर्तामोड।

अर्जुनधारा–११स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।

चिया बगानमा घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई एक समूहले घरेलु हतियार देखाई कपडा खोल्न लगाएरु नाङ्गेझार पारेका थिए । पक्राउ पर्नेमा अर्जुनधारा–११ निवासी १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगी रहेका छन् ।
इलामबाट मितआमाको घर आएर इलाम फर्किदै गर्दा गिरी बन्धु टी इस्टेटमा भाइसँग तस्वीर खिच्दै गरेको अवस्थामा खुकुरीसहित आएका उनीहरुले सबै कपडा खोल्न लगाई तस्वीर खिचेको र साथमा भएको १२ हजार दुई सय रुपैयाँ लुटेको र एक लाख रुपैयाँ नदिए खिचिएको तस्वीर भाइरल बनाइ दिने भन्दै धम्क्याएको पीडितहरुले बताएका छन् । पीडित महिलालाई चिया बगानमै दुई युवाले नाङ्गेझार बनाई राखेको र उनका भाइलाई थप एक लाख रुपैयाँ लिन युवाले बिर्तामोडतर्फ ल्याएका थिए ।

बैंकमा राखिएको रकम एटीएमबाट झिकेर दिन्छु भने पछि ती युवालाई उनीहरुले बिर्तामोड लिएर आएका थिए । बिर्तामोड आइपुगेपछि पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए । घटना थाह पाए लगत्तै प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा नाङ्गै राखिएको भेटेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याएको थियो ।
नाङ्गेझार बनाएकी ती महिलालाई पक्राउ पर्ने मध्येका मगर र घटनामा संलग्न अर्का एक व्यक्तिले यौनशोषणको प्रयत्न समेत गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन् । आफ्नो संवेदनशील अंगमा हात लगाउँदै लछारपछार गरेको उनले प्रहरी समक्ष उजुरी गरेकी छिन् ।
यता एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीन डाँगी संलग्न भएको प्रहरी स्रोतको भनाइ छ । घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गिरी बन्धु टी इस्टेटमा दिउँसो १ः३० बजेको समयमा मितआमाको छोरा (भाइ)सँग उनी घर फर्किन अघि तस्वीर खिचिरहेका बेला खुकुरीसहित आएका उनीहरुले आफूहरु दुबै जनालाई नाङ्गेझार बनाएर तस्वीर, भिडियो खिचेको र पछि पैसामा बार्गेनिङ गर्दै तस्वीर र भिडियो भाइरल बनाइदिने धम्की दिएको इलाका प्रहरी कार्यालयमा उजुरी परेसँगै प्रहरीले घटनामा संलग्नलाई जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

