[अमित खम्बू]
अर्जुनधारा।

पछिल्लोपटक फस्टाउँदै गएको पर्यटन क्षेत्र आम्दानीको भरपर्दो विकल्प भएपछि सो क्षेत्रमा जोडिएर अर्जुनधारा नगरपालिकामा रहेका केही सामुदायिक वन उपभोक्ता समूहहरुले काम गर्न शुरु गरेका छन् ।

नगरपालिकामा रहेका ७ वटा सामुदायिक वन उपभोक्ता समूह मध्ये वडा नम्बर ३मा रहेको जुकेखाडी, वडा नम्बर १मा रहेको हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न शुरु गरेका हुन् ।
चालू आर्थिक वर्षमा जुकेखाडीले प्रारम्भिक बजेट १२ देखि १५ लाख रुपैयाँ र हलुवागढले ७० लाख रुपैयाँ बराबरको काम शुरु गरेको बताइएको छ । यता हचुमासाले भने गत आर्थिक वर्षमा समूहका अध्यक्ष रामबहादुर निरौलाको अध्यक्षतामा गठित १७ सदस्यीय पर्यटन सम्भाव्यता समितिमार्फत् वनको अनुमानित ३० हेक्टर क्षेत्रफलको जग्गामा ‘हात्ती आहाल’ नामकरण गरी प्रारम्भिक बजेट अनुमानित १० लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको छ ।

तत्कालीन समयमा शरणार्थीहरु बसेको वनको ७० हेक्टर क्षेत्रफल जग्गामध्येको खाली भूभागलाई आकर्षणको केन्द्रबिन्दु बनाउने सोच लिएको बताइएको छ । मुलुकमै पर्यटन क्षेत्रले आर्थिक पाटोमा उल्लेखनीय रुपमा गरेको प्रगतिका कारण सामुदायिक वनलाई पर्यटनसँग जोड्न काम शुरु गरेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलले बताए । ‘सामुदायिक वनहरु सँधै जंगलबाट रुख ल्याई सञ्चालन हुने स्थिति नहुँदा वैकल्पिक स्रोतको रुपमा यसलाई शुरु गरेका हौं’– उनले भने ।
समूहका अध्यक्ष कट्टेलका अनुसार पोखरी निर्माणको लागि जिल्ला भू–संरक्षण कार्यालयसँग सम्झौता भइसकेको छ । वनभोजस्थल निर्माणका लागि सरसफाई, पिउने पानीको लागि धारा जडान, विद्युत् बिस्तार तथा वन क्षेत्रमा रहेको रुखविरुवाहरुमा रंगरोगनलगायतका कामहरु भइरहेको छ ।
त्यसैगरी हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रप्रसाद तामाङका अनुसार वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने हुँदा समूहले पर्यटन क्षेत्र निर्माणको योजना ल्याएको बताए ।
अध्यक्ष तामाङका अनुसार गतभदौबाट वनको ६ हेक्टर क्षेत्रफलको खाली जग्गामा शुरु गरिएको सो योजना अन्तर्गत डुंगा शयरका लागि पोखरी, वनभोजस्थल, भ्यूटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, विभिन्न बहुउपयोगी प्रजातिका बिरुवाको संरक्षण गर्ने लगायत निर्माणका कामहरु भइरहेको छ ।
अनुमानित ४० लाख खर्च भइसकेको जानकारी गराएका उनले हाल पोखरी निर्माण, पोखरीको आउटलेट र तल्लो भागमा इनलेटसहित चेकड्याम बनाउने कार्य भइरहेको जानकारी दिए । ‘आउने नयाँ वर्षको वैशाख मसान्तसम्म काम सम्पन्न गरी सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य हो’– उनले भने ।
सामुदायिक वन उपभोक्ता समूहहरुले आन्तरिक स्रोत परिचालन गरी पर्यटन क्षेत्रसँग जोडिएर शुरु गरेको काम नमूना भएको हुँदा सो काम सम्पन्न गर्नका लागि अर्जुनधारा नगरपालिकाको तर्फबाट आर्थिक र प्राविधिकदुवै कुराको व्यवस्थापन गरी सहयोग पु¥याउने नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।
यता नगरपालिकाको वडा नम्बर ९स्थित सालबाडीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २२.४ हेक्टर क्षेत्रफलको जग्गामा भने २०७० सालबाट सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको प्रवद्र्धनमा सुखनी शहीद स्मृति उद्यान सञ्चालनरत् रहेको छ ।
तत्कालीन समय २०२९ साल फागुन २१ गते शहादत प्राप्त पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मारक निर्माण तथा शहीद स्मृति उद्यान निर्माणका लागि सो जग्गा प्रतिष्ठानलाई प्राप्त भएको हो ।

