Aamsanchar

प्रहरीमा जागिर छाड्नेको लर्को

Author Image
शनिवार, पौष १५, २०७४

काठमाडौं :

प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लाग्ने गरेको पाइएको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन् ।

जागिर छाड्ने संख्यामा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन् । प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी, एक प्रहरी उपरीक्षक, एक नायब उपरीक्षक (डीएसपी), दुई प्रहरी निरीक्षक, ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ जना प्रहरी कार्यालय सहायकले जागिर छाडेका छन् । आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ ।

गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए । जसअनुसार दुई एसपी, एक डीएसपी, चार इन्सपेक्टर, ८० सई, दुई सय ४२ असई, चार सय ९३ हवल्दार, एक सय ३० जवान र २६ जना सहायकले जागिर छाडेका थिए । यीमध्ये केहीले पेन्सन पाइसकेपछि, केहीले अमेरिकी डीभीचिठ्ठा परेर, केहीले विदेशमा राम्रो काम पाएर र केहीले घरयासी काम देखाएर जागिर छाडेका हुन् ।

प्रहरीमा धमाधम जागिर छाड्ने विषयमा प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपाने भन्छन्, ‘सुरुमा जागिरे सिलसिलामा प्रहरी सेवामा प्रवेश गर्छन्, पछि राम्रो अवसर पाएपछि जागिर छाड्छन् । ७५ हजार फौजमा सात-आठ सयले राजीनामा दिनु ठूलो विषय होइन ।’ उनले अहिलेको परिवेशअनुसार प्रहरी कर्मचारीले पाउनुपर्ने पारि श्रमिक मेल नखाएको बुझेर पनि धेरैले अर्को अवसर पाएर जागिर छाडेको बताए । खासगरी वैदेशिक रोजगारी र मलेसिया, दुबई, कतारमा पूर्वप्रहरी भएकै कारण सुरक्षा गार्डमा राम्रो अवसर पाइने भएकाले पनि तल्लो तहका प्रहरीले जागिर छाडेर उतै लागेको दाबी प्रहरी मुख्यालयको छ ।

डीआईजी नवराज सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुन नपाएपछि असन्तुष्ट भएर जागिर छाडे भने कम्युटर निर्देशनालयकी शिला कंसाकारले घरायसी कारण देखाएर जागिर छाडेकी हुन् । बाँकीले पेन्सन अवधि पुगेको र प्रहरी सेवामा रुचि नभएको र थप भविष्य नदेखेपछि जागिर छाडेको बुझाइ मुख्यालयको छ । लामो समयदेखि सईको बढुवा रोकिएको कारण पनि सई र असईले जागिर छाडेका हुन् ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘एकताका नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिन हुन थालेपछि जागिर छाड्नेको लर्को लागेको थियो तर अहिले प्रहरीभित्रको विचलन पछिल्लो आईजीपी नियुक्ति प्रकरणले पनि ल्यायो । त्यससँगै अन्य कारण पनि छन्, बढुवामा नपर्ने, सधैं अपजसे र दुर्गममा मात्रै दरबन्दी पर्ने भएका कारण पनि असन्तुष्ट भएर जागिर छाड्ने गरिएको देखिएको छ ।’

कतिले छाडे

२०६९ – १०८८

२०७० – ८१९

२०७१ – १४५७

२०७२ – ११८७

२०७३ – ९८८

२०७४ पुससम्म – ७०८

अन्नपूर्ण अनलाइनबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर