गौरादह,

झापामा उत्पादित मकैले मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत जेठमा उत्पादन भएको मकै उचित मूल्य नपाउँदा अझैसम्म विक्री हुन सकेको छैन । जिल्लामा उत्पादित मकै दाना फ्याक्ट्रिहरुले खरिद गर्दै आएका छन् ।

गौरादहस्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उचित मूल्य नपाउँदा मकै विक्री गर्न नसकेको जनाएको छ । सहकारीका सञ्चालक बेधनिधी चापागाईले मूल्य नपाउँदा तीन सय मन मकै गोदाममा थन्किएको बताउनुभयो ।

उहाँका अनुसार भारतबाट आउने मकैका कारण नेपाली मकैले मूल्य नपाएको हो । सहकारीले २० बिघा जमिनबाट एक हजार एक सय मन मकै उत्पादन गरेको थियो । लोकल जातको ‘रामपुर’ र हाइब्रेड जातको ‘पायनियर’ मकै उत्पादन गरेको चापागाईले बताउनुभयो ।

अहिले मकैको मूल्य प्रतिमन ७ सय ६० रुपैयाँ छ । किसानले मकै विक्री गर्न दाना फ्याक्ट्रिसम्मै पुर्याउनुपर्ने बाध्यता छ । चापागाईका अनुसार जिल्लाका अधिकांश किसानले मकै मोरङको झोराहाटमा रहेको दाना फ्याक्ट्रिमा पुर्याउँने गर्छन् । त्यहाँसम्म पुर्याएर मकै विक्री गर्दा किसानले प्रतिमन ४० रुपैयाँ ढुवानीमा खर्च व्यहोर्नुपर्छ । – रेडियो कान्तिपुरबाट

