झापाका स्थानीय तह चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्नेदेखि नगद
जरिवाना गर्नेसम्मका निर्णय
विनोद धौलागिरि
झापा, १६ पौष झापा मात्र नभै राष्ट्रलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने मिति समाप्त हुनैलाग्दा झापाका स्थानीय तह खुल्ला दिसामुक्त अभियानलाई अगाडि बढाउन आक्रामक बन्दै गएका छन् । उनीहरुले चर्पी नहुनेलाई उपभोक्ता समितिमा नराख्नेदेखि खुल्लामा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्ने निर्णय गरेका छन् ।
“अहिलेसम्म खुल्ला दिसामुक्त अभियानका लागि वातावरण बनाउने र माहोल तताउने काममात्र भैरहेको थियो”, कचनकवल गाउँपालिका, वडा नं. ५ (साविक पाठामारी गाविस) का सचिव विमल पोखरेलको भनाइ छ, “हतियार बनाउनका लागि फलामलाई लगाएजस्तै खुल्ला दिसामुक्त अवस्था हासिल गर्नका लागि पनि लगाउनैपर्ने रहेछ, यसका लागि सानोतिनो तापले नपुग्ने रहेछ ।”
पाठामारीमा बसेको वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले पाठामारीलाई एक महिनाभित्र खुल्ला दिसामुक्त अवस्थामा पु¥याउनका लागि वडा सदस्यहरुको संयोजकत्वमा तीन वटा टोल निगरानी समिति समेत गठन गरेको छ । “समितिहरुले पहिलो चरणमा आफ्नो घरमा सुरक्षित शौचालय निर्माणका लागि पत्राचार गरिएका घरधुरीमा पत्रको फलोअप गर्नेछन्”, वडाध्यक्ष महेशलाल गणेशले भने, “सचेतीकरणका साथै प्राविधिक सहयोग गर्ने र अटेरीहरुलाई सम्झाइ बुझाइ गर्ने काम समेत अनुगमन गर्ने समितिले गर्छन् ।”चिया बगान र इटा भट्टामा समेत व्यवस्थित शौचालय नभएको र त्यहाँका मजदुरहरु खुल्ला स्थानमा दिसा पिसाव गर्ने गुनासो बढिरहेको समयमा पाठामारीमा उद्योगका प्रतिनिधिहरुलाई समेत अनुगमन समितिमा समावेश गरिएको छ । “जसले समस्या सृजना गरेको छ, उसैले समाधान गर्नुपर्छ”, सचिव विमल पोखरेलको धारणा छ, “त्यसैले उद्योगका प्रतिनिधिहरुलाई समेत अनुगमन समितिमा राखिएको छ ।”

सरकारी तलव खाने कर्मचारीकै छैन चर्पी

पाठामारीमा आयोजना गरिएको सरसफाइ सम्मेलनमा सहभागी भएपछि वडा कार्यालय नजिकै चिया पसल सञ्चालन गरेर बसेका जय गणेशले १४ हजार खर्चिएर दुई खाल्डे चर्पी बनाए । “चर्पी त टिकाउ हुनेगरी बनाउनुप¥यो”, जयको भनाइ छ, “त्यसैले दुई खाल्डे चर्पी बनाएँ ।” उनले दुबै खाडलमा रिङ राखेर सुरक्षित चर्पी बनाएका छन् । “सम्मेलनमा आएको बेलामा चर्पी नबनाउने मान्छे सामाजिक अपराधी हो भनेको सुनें”, उनले सुनाए, “समाजमा बसेपछि अपराधीजस्तै व्यवहार गर्न मन लागेन, त्यसैले चर्पी बनाएँ ।”
सरसफाइ सम्मेलनमा सहभागी हुने सर्वसाधारणले चर्पी बनाउन थाले पनि वडा कार्यालयका सहयोगी कर्मचारी धर्मेन्द्रकुमार गणेश र हुलाक कार्यालयका जयनारायण गणेशकै घरमा भने चर्पी छैन । “सरकारी तलव खाने कर्मचारीले बाँसघारीमा दिसा गर्न सुहाउँदैन”, साविक पाठामारी–९ की महिला स्वास्थ्य स्वयंसेविका समियाला बेगमले वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकमा भनिन्, “मेरो घरमा पनि चर्पी थिएन, सरसफाइ सम्मेलनपछि मैले चर्पी बनाएँ, अब चर्पी नबनाउने हो भने कर्मचारीको तलव रोक्का गर्नुपर्छ, खुल्लामा दिसा गरेवापत नगद जरिवाना समेत गर्नुपर्छ ।” यस्तै धारणा राख्छिन् साविक वडा नं. ४ की महिला स्वास्थ्य स्वयंसेविका जसना कुमारी गणेश भन्छिन्, “अरुलाई स्वास्थ्य शिक्षा दिने हामी महिला स्वास्थ्य स्वयंसेविकाहरु र सरकारी कर्मचारीकै चर्पी नहुनु भनेको लज्जास्पद विषय हो ।” अर्की महिला स्वास्थ्य स्वयंसेविका चानवत्ती राजवंशीको भने अहिले पनि शौचालय छैन । घर भएको ठाउँमा जग्गा कम भएको बहाना गरेर उनले शौचालय नबनाएको सरसफाइ अभियानका एरिया संयोजक मोतीलाल राजवंशीले बताए ।
साविक वडा नं. ५ की महिला स्वास्थ्य स्वयंसेविका लालमन खातुन समेत दिनहूँ दिसा गर्न खुल्लामा धाउँछिन् । उनीमात्र होइन, जानकी आधारभूत विद्यालयका बाल शिक्षा कक्षाका शिक्षक कविता गणेश, अमिरन खाुतुन र प्रमिला गणेशको समेत चर्पी छैन । “विद्यार्थीलाई सरसफाइ सिकाउने शिक्षिकाहरु आफै खुल्लामा दिसा गर्नुहुन्छ, के शिक्षा दिनुहोला विद्यार्थीलाई ?”, खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका अभियान संयोजक महेन्द्र कार्कीको प्रश्न छ ।
श्री आधारभूत विद्यालयका शिक्षक मुसलेहारा खातुनको घरमा चर्पी बनाउने सामान झार्दैछन् भने पशुपति आधारभूत विद्यालय पाठामारीका सहयोगी कर्मचारी संजीत कुमार गणेशले चर्पी बनाउने सुरसार नै छैन ।राजनीतिक र

सरसफाइ अगुवा समेत चर्पी नहुनेको सूचीमा
पाठामारीका राजनीतिक अगुवा सफिउद्धिन मियाको समेत चर्पी छैन ।“हामीले धेरै पटक अनुरोध गरिसक्यौं, तर पनि चर्पी बनाउनुभएको छैन”, खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकको प्रतिप्रश्न छ, “अगुवा नै बाटोहगुवा भएपछि सर्वसाधारणलाई बाटो देखाउने कसले ?”
सरसफाइ अभियानकै अगुवा समेत खुल्लामा दिसा गर्छन् भन्दा अनौलो लाग्ला, तर पाठामारीमा गठन गरिएको वडास्तरीय सरसफाइ कार्यदलका सदस्य सन्फराम बेगम र नुर मोहम्मद आलमकै घरमा चर्पी छैन । भारतीय नम्बर प्लेटको नयाँ गाडी किनेका नुर मोहम्मद आलमले गाडी किन्दा पैसा सिद्धिएकोले चर्पी बनाउन नसकेको बताउने गरेको सरसफाइ समितिको बैठकमा उपस्थित सदस्यहरुले बताए ।
वडा सदस्य खुस मोहम्मद आलमले चर्पी बनाउने सामान झार्दैछन् भने लीलादेवी सरदारले सरसफाइ सम्मेलनपछि चर्पी बनाउने सामानका लागि पैसा दिएकी छिन् । “पहिले बनाउनैपर्छ भन्ने भएन”, खुस मोहम्मद आलमले भने, “अब आफैले अभियानको नेतृत्व गर्नुपर्ने भएपछि त चर्पी बनाउनैप¥यो नि ।”
खुल्लामा दिसा गर्ने सामाजिक अपराधी
नेपाल सरकारले खुल्लामा दिसा गर्ने कार्यलाई सामाजिक अपराध मानेको तथ्यलाई मध्यनजर गर्दै पाठामारीले समेत खुल्लामा दिसा गर्ने व्यक्तिलाई सामाजिक अपराधी मानी सामाजिक वहिष्कार गर्ने कठोर निर्णय गरेको छ । “खुल्लामा दिसा गरी अरुलाई विरामी पार्ने काम सामाजिक व्यवहार हुँदैहोइन”, जानकी आधारभूत विद्यालय पाठामारीका शिक्षक मोहनलाल गणेशको भनाइ छ, “खुल्लामा दिसा गर्ने काम सामाजिक अपराध भएकोले विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिहरुमा समेत राख्नु हुँदैन ।”
खुल्लामा दिसा गर्ने कार्य बन्द गराउन सबैभन्दा ठूलो भूमिका चर्पी हुने छिमेकीहरुको रहने बताउँछन् देवी आधारभूत विद्यालय पाठामारीका शिक्षक रजगुण राजवंशी । “खुल्ला स्थानमा दिसा गर्दा सबैभन्दा बढी प्रभावित हुने छिमेकीहरु नै हुन्”, उनी भन्छन्, “त्यसैले चर्पी नहुने आफ्ना छिमेकीहरुलाई चर्पी बनाउनका लागि छिमेकीहरुले नै दवाव दिएमामात्र सरसफाइको सामाजिक मान्यता स्थापित हुन्छ ।” यस्तै छलफल भयो शिवसताक्षी नगरपालिकाको नगरकार्यपालिका बैठकमा समेत । “शुक्रबार सम्पन्न बैठकले खुल्ला र असुरक्षित शौचालयमा दिसा गर्नेलाई फोहरमैला व्यवस्थापन ऐन अनुसार नगद जरिवाना गर्ने निर्णय गरेको छ”, नगरपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य समेत रहेका विराट सामुदायिक अध्ययन केन्द्रका एरिया संयोजक किशोर बूढाथोकीले भने, “आइतबारदेखि माइकिङ गरेर सबैलाई एक हप्ताको समय दिएर सचेत गराइने छ, त्यसपछि पनि चर्पी नबनाउनेलाई जरिवाना गर्न सुरु हुन्छ ।”
घरमा चर्पी नहुनेलाई कुनै पनि सम्मान नगर्ने निर्णय समेत पाठामारीमा गरिएको छ । “चर्पी नहुने मानिस सम्मानित मानिस हुनै सक्तैनँ, त्यसैले सम्मान र कुनै पनि पद दिनु हुँदैन खुल्लामा दिसा गर्ने व्यक्तिलाई”, शिक्षक रजगुण राजवंशीको भनाइ छ ।
पत्राचार, भरदैलो, सम्झाइ बुझाइ गर्दा समेत अटेर गरी खुल्लामा दिसा गर्ने व्यक्तिको तस्वीर खिचेर सार्वजनिक स्थानमा टाँस गरिदिने बताउँछन् शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा । “दशौं पटक सम्झाउँदा समेत अटेर गर्ने अटेरीलाई सार्वजनिक रुपमा बेइज्जत नगरी वानीव्यवहारमा सुधार ल्याउँदैनन्”, नगर प्रमुख शेर्माको भनाइ छ ।
(नेपाल पत्रकार महासंघ/वास मिडिया फोरम)

