Aamsanchar

अपराध न्यूनीकरणमा प्रविधिको प्रयोग

Author Image
शनिवार, माघ २०, २०७४

(सुरेन्द्र भण्डारी)
बिर्तामोड।

२०७० साल असोज १५ गते बिर्तामोड–५मा रहेको सिटी एक्प्रेस मनी ट्रान्सफरबाट इलाम दानाबारी–१ निवासी कृष्णबहादुर लिम्बूको नगद जबरजस्ती खोसेर लाने व्यक्ति पक्राउ परे । उनलाई मनी ट्रान्सफरमा भएको सीसी क्यामेराको फुटेजको आधारमा प्रहरीले पक्रउ गरेको थियो ।

२०७१ साल कात्तिक २२ गते राति बिर्तामोड–७ को ट्रेडलिंक कम्प्युटर सप्लायर्सबाट सटर फोडी डेल, एसर, लेनोबो, एचपी, सामसुङ लगायतका ४१ थान ल्याप्टप र क्यामेरा चोरी भएको थियो । मुक्तिचौकमा जडित सीसी क्यामेराको फुटेजको आधारमा चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भयो ।

गतपुस १२ गते साँझमा गोरखा पालुङ्टार–८ बस्ने सनम गौतमले सिक्री लुटेको भनी एक महिलाले इलाका प्रहरी कार्यालयमा दिएको मौखिक उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा हनुमान कम्प्लेक्समा रहेको सीसी क्यामेरामा उजुरीकर्ता महिलाले सिक्री नै नलगाएको पाइएपछि युवकलाई फसाउन षड्यन्त्र गरेको पाइएको थियो ।

गत मंसीर २७ गते उमेश भन्ने टेकबहादुर हिङ्माङ दर्जीले अर्जुनधारा नगरपालिका–११का एक व्यक्तिको सुनका गरगहना लुटेका थिए । लुटेको गरगहना दमकमा रहेको एक सुन पसलमा बिक्री गरेका थिए । तर, सुन पसलमा भएको सीसी क्यामेराको सहायताले उनले लुटपाट गरी बिक्री गरेको प्रहरीको अनुसन्धान क्रममा खुलेको थियो ।

प्रविधिको उच्चतम् सदुपयोग गर्दै प्रहरीले अपराध न्यूनीकरणमा अहिले सीसी क्यामेरा जडान कार्यलाई तीव्रता दिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला आएसंगै प्रविधिलाई सुरक्षासँग जोड्ने अभियान अन्तर्गत बिर्तामोडमा सीसी क्यामेरा जडान गर्न शुरु गरिएको छ ।
प्रविधि प्रयोग गरेर सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि प्रहरीले गत शुक्रबार चारपाने चौकबाट क्यामेरा जडान कार्य शुरु गरेको छ । प्रहरीले शुरु गरेको कार्यलाई स्थानीयवासी, समाजसेवी, वुद्धिजीवी सवैले खुलेर प्रशंसा गरिरहेका छन् ।

सहारा नेपाल चारपानेका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सुरक्षालाई प्रविधिसँग जोड्नु सकारात्मक भएको बताएका छन् । उनले सुरक्षाको हिसाबले यो अति महत्वपूर्ण रहेको भन्दै सहाराले पनि अभियानमा सहयोग गरेको बताए । उनले सीसी क्यामेरा जडान कार्यमा सवैको सहभागिता रहनुपर्ने सुझाव समेत दिएका छन् । बिर्तामोडमा न्यूनतम् ६० वटा सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखेर विर्तामोडका डीएसपी कोइराला अघि बढिररहँदा बिर्तामोडको चारपाने क्षेत्रमा मात्रै २० वटा सीसी क्यामेरा जडान गर्न आफूहरु उत्सुक रहेको चारपाने–अर्जुनधारा समाजका प्रवक्ता तारा पराजुलीले बताए ।

उनले सहारा नेपाल, बिर्तामोड नगरपालिका–२ र चारपाने–अर्जुनधारा समाजको सहयोगमा १० वटा सीसी क्यामेरा जडान गरेको बताए । उनले भने टोल–टोलमा यसको माग वढेकाले हामी अझै १० वटा सीसी क्यामेरा जडान गर्छौं । सीसी क्यामेरा जडानका लागि वडाले पाँच लाख, सहाराले दुई लाख र समाजले १ लाख रुपैयाँ प्रदान गरिसकेको उनले बताए ।

यता सीसी क्यामेरा जडानका लागि अर्जुनधारा नगरपालिका समेत सकारात्मक रहेको नगरप्रमुख हरि रानाले बताएका छन् । उनले भने– इलाकाका डीएसपी सावले हामीलाई उत्प्रेरणा दिने काम गर्नु भएको छ, हामी महानन्द चौकदेखि माता मन्दिरसम्म ९ वटा सीसी क्यामेरा जडानका लागि सकारात्मक छौं, उहाँहरुले खाली प्रपोजल लिएर आउनुप¥यो । सीसी क्यामेरा जडानका लागि उपभोक्ता समिति वनेको रहेछ, यो ज्यादै सकारात्मक छ, हाम्रो नगरले पनि सहयोग गर्छ– नगर प्रमुख रानाले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर