Aamsanchar

पूर्वी नाकाबाट यस्तो खुलासा ! फेसबुकबाटै मानव तस्करी

Author Image
शनिवार, माघ २०, २०७४

[नरेन्द्र ढकाल /दीपेन लावती]

झापा।

सामाजिक सञ्जालको प्रयोगले धेरैले राम्रो काम गरेका उदाहरणहरु प्रशस्तै छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको पनि नेपालमा कमी नभएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा भाइबर लगायतबाट ठगीका घटनाहरु भइरहेको बेला मानव तस्करहरुले समेत सामाजिक सञ्जाललाई नै आफ्नो भरपर्दो स्रोत बनाउने गरेको खुलासा भएको छ । ताप्लेजुङकी १७ वर्षीया सविता लिम्बू (नाम परिर्वतन) ले सामाजिक सञ्जाल फेसबुक खोलेको केही दिनमा एक अपरिचित व्यक्तिबाट फ्रेण्ड रिक्वेस्ट आयो । उनले पनि शुरुमा सहज रुपमा साथी बनाइन् ।

अपरिचि ती व्यक्तिले आफू दाङ जिल्लाको भएको परिचय दिए । फेसबुकमा दैनिक कुरा हुन थाल्यो, बोलचाल भएको एक महिनापछि एकले अर्कालाई जीवनभर माया गर्ने र सँगै जिउनेसँगै मर्ने बाचा गर्दै भेट्ने निधो गरे । दाङको केटा र ताप्लेजुङकी केटीले झापाको बिर्तामोडमा भेटेर बिहे गर्ने निर्णय गरे । सोही अनुरुप उनीहरुको बिर्तामोडमा भेट पनि भयो ।

एक अर्का बिना बाँच्न पनि नसक्ने भन्दै उनीहरु भागेर बिहे गर्ने निधोमा पुगे र सोही अनुसार केटाको प्रस्तावमा भारततर्फ लागे । बिर्तामोडबाट बस चढेर काँकरभिट्टा पुगे लगत्तै भारततर्फ प्रवेश गर्नै लाग्दा माइती नेपालले शंका लागेर सोधपुछ गर्दा बल्ल ती चेलीले आफू बेचिन लागेको थाह पाइन् । माइती नेपालले केरकार गरेर सोधपुछ गर्न थालेपछि केटो सम्पर्कविहीन बन्यो भने केटीलाई माइती नेपालले उद्धार गरेर परिवारको जिम्मा लगायो । यो एउटा उदाहरण मात्र भएको बताउँछन्– माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा नचिनेको व्यक्तिसँग कुरा गर्दै मायाजालमा परेर चेलीबेटी बेचिने क्रम बढ्दै गएको संयोजक घिमिरेले बताए । दलालहरुले महिलाहरुलाई विभिन्न बहाना बनाएर भारतका विभिन्न कोठीहरुमा लगेर बेच्ने गरेको भन्दै घिमिरेले अपरिचित व्यक्तिलाई छिट्टै विश्वास नगर्न आग्रह समेत गरेका छन् । उनले दलालले विभिन्न माध्यमबाट फसाउन सक्ने भएकाले कुनै एक व्यक्तिको भरमा परेर हिँड्न नहुने सुझाव दिएका छन् ।

भारतबाट २८ चेलीको उद्धार

माइती नेपाल काँकरभिट्टाले भारतका विभिन्न स्थानबाट सन् २०१७मा २८ जना चेलीको उद्धार गरेको छ ।

विभिन्न बहाना बनाएर भारतका विभिन्न कोठीमा बेचिएका महिलाहरुको उद्धार गरिएको माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा पूर्वी नाका काँकरभिट्टाबाट तीन सय १३ जना महिलालाई फर्काइएको छ । उनीहरुलाई बेचिन लागेको आशंकामा सम्झाई बुझाई फर्काइएको उनले बताए ।

सन् २०१६मा भने १८ जना चेलीको उद्धार गरिएको थियो भने दुई सय ९९ जनालाई नाकामा सम्झाई–बुझाई घर पठाइएको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । पूर्वी नेपालको झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा पश्चिम नेपालका सिन्धुपाल्चोक, गोरखा लगायतका स्थानका चेलीहरु बेचबिखनमा बढी पर्ने गरेको बताइएको छ ।

किशोरीको लर्को

रोजगारी लगायत विभिन्न वहानामा बेचिनेहरुमा किशोरीहरु संख्या बढी रहेको पाइएको छ । माइती नेपालको तथ्याङ्क उद्धृत गर्दै संयोजक घिमिरेले उद्धार गरिएका अधिकांश महिलाहरु १५देखि २२ वर्ष उमेर समूहका रहेको जानकारी दिए । बहकाउमा छिट्टै लाग्ने तथा छिट्टै पैसा कमाएर धनी बन्ने सपना सजाएर किशोरीहरु दलालको फन्दामा पर्ने गरेको बताइएको छ ।

पूर्वाञ्चल संयोजक घिमिरेले १५देखि २२ वर्षसम्म उमेरमा पनि परिपक्वता नहुने भएकाले यो समयमा आफ्ना नानीहरुको ख्याल गर्न अभिभावकहरुलाई सुझाव दिएका छन् । उनीहरुसँग नजिक भएर चेलीबेटी बेचबिखनको विषयमा जानकारी गराउन आवश्यक रहेको घिमिरेको भनाइ छ ।

हराउने धेरै, फेला पर्ने कम

चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको माइती नेपालमा महिलाहरुको उजुरीको चाङ लागे पनि भेटिने भने थोरै रहेको माइती नेपाल काँकरभिट्टाकी सहजकर्ता हेमन्ता बुढाथोकीले बताइन् ।

उनका अनुसार माइती नेपाल काँकरभिट्टामा सन् २०१७मा मात्रै दुई सय २३ जना महिला हराएको निवेदन परेको थियो । जसमध्ये ५० जना महिलालाई फेला पारेर परिवारको जिम्मा लगाइएको थियो ।

सन् २०१६मा एक सय ५४ जना महिला हराएको निवेदन दर्ता भएको थियो । एक वर्षको अवधिमा ३९ जना महिला मात्र फेला पारिएको तथ्याङ्कमा उल्लेख छ । महिला हराएको निवेदनमा अधिकांश झापाका महिलाहरु रहेको पाइएको छ ।

छिट्फुट रुपमा इलाम, पाँचथर, ताप्लेजुङका निवेदन दर्ता भए पनि झापाको धेरै रहेको बताइएको छ । केही महिलाहरुलाई काँकरभिट्टा नाकाबाट फेला पारिएको तथा केहीलाई परिवारले नै विभिन्न स्थानबाट फेला पार्ने गरे पनि अधिकांश हराएका महिलाहरु फेला नपरेको माइती नेपालको तथ्याङ्कले पुष्टि गरेको छ ।

भारतबाट उद्धार गर्न सहज

केही समय अघिसम्म भारतमा बेचिएका चेलीलाई कोठीबाट उद्धार गरेर ल्याउन निक्कै मुस्किल परे पनि पछिल्लो समय भने भारतमा चेलीबेटी बेचबिखनबिरुद्धमा काम गर्ने संस्थाहरु बढ्दै गएकाले भारतबाट नेपाली चेलीको उद्धार गर्न सहज भएको माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरेले बताए । उनले भारतका रहेका विभिन्न संघ संस्थाका साथै प्रहरीले पनि बेचिएका नेपाली चेलीको उद्धारमा सहयोग गर्ने गरेको बताए ।

बेराजगारी ठूलो समस्या

नेपालमा भएको बेराजगारीको समस्याका कारणले गर्दा धेरै चेलीहरु रोजगारीको खोजीमा रहेको बेला दलालले विभिन्न प्रलोभनमा पारेर बेच्ने गरेको पाइएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा धेरै चेलीहरु काँकरभिट्टा नाका हँुदै विभिन्न देशमा पु¥याएर दलालले कोठीहरुमा बेच्ने गरेको खुलासा हुन थालेको छ ।

विभिन्न माध्यमबाट भारत पुग्ने र भारतीय बिमानस्थलको प्रयोग गरेर दलालहरुले खाडीका साथै विभिन्न मुलुकहरुमा चेलीहरुलाई पु¥याएर यौनकर्ममा लगाउने गरेको भन्दै संयोजक घिमिरेले नेपालको विमानस्थल प्रयोग गरेर मात्रै विदेश जान सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर