Aamsanchar

वीरता जेसीजले आफ्नै भवन निर्माण गर्ने

Author Image
शनिवार, माघ २०, २०७४

बिर्तामोड।

वीरता जेसीजले एक करोड रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गर्ने भएको छ । जेसीजले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड नगरपालिका–२मा ३ कठ्ठा जमिनमा आफ्नै भवन निर्माण गर्ने जानकारी दिएको हो ।

जेसीजका पूर्व अध्यक्षहरुले उपलब्ध गराएको ३ कठ्ठा जमिनमा दुई बर्षभित्र भवन निर्माण गरिसक्ने जनाएको छ । सामुदायिक भवनसहितको कार्यालय स्थापना गर्ने लक्ष्यका साथ आइतवार भवनको शिलान्यास गरिने वीरता जेसीज २०१७ का अध्यक्ष सञ्जु भारतीले बताए ।

पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, शेखर ढकाल, सुरेश वंशल, प्रमेशराज कर्णिकार, शिवकुमार अग्रवाल र पूर्व उपाध्यक्ष ओमभक्त प्रसाईले संयुक्त रुपमा बिर्तामोड–२को कछ्छुवारीमा गरमकालीको मन्दिरसहित ३ कठ्ठा जमिन उपलब्ध गराएको वीरता जेसीजका तालिम संयोजक एकराज गिरीले बताए ।

वीरता जेसीज स्थापनाकालदेखिका अध्यक्षलगायत पूर्व जेसीजहरुको बिशेष लगानी हुने साथै बिभिन्न निकायबाट आर्थिक सहयोग संकलन गरी २ बर्षभित्रमा एकतले सामुदायिक भवन निर्माण गरिने अध्यक्ष भारतीले बताए । जग्गादाता शिवकुमार अग्रवालका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै सर्वसाधारणको सुबिधाका लागि भवनको आवश्यकता महशुस गरी जेसीजलाई जग्गा प्रदान गरिएको छ । भवन निर्माणपछि २ नम्बर वडावासीलाई सामुहिक कार्यमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ । वर्तमान कार्य समितिका अध्यक्ष भारतीको नेतृत्वमा भवन निर्माण समिति गठन गरी कार्य प्रारम्भ गरिएको जनाइएको छ ।

व्यक्तित्व बिकास र सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वीरता जेसीजले सन् २०१७ मा १९ लाख रुपैयाँ संकलन गरी धुर्मुससुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरिसकेको छ भने यसैबर्ष झापाका बाढीपीडितलाई समेत राहत बितरण गरेको छ । त्यस्तै दुर्घटना न्यूनीकरणका लागि चालकहरुलाई चेतनामूलक अभियान समेत सञ्चालन गरेको थियो ।

जेसीजको अधिवेशन आगामी मंगलबार बिर्तामोडमा गरिने तालिम संयोजक एकराज गिरीले बताए । पत्रकार भेटघाटमा निवर्तमान अध्यक्ष सजेश शिवाकोटी, पूर्व अध्यक्षहरु शेखर ढकाल, प्रमेश राजकर्णिकार लगायतले भवन निर्माणको आवश्यकता बारे जानकारी गराएको महासचिव जीवन खड्काले बताए ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर