Aamsanchar

रेडक्रस बिर्तामोडको साधारणसभा ‘मान्छेभित्रको असल भावना नै रेडक्रस’

Author Image
शनिवार, माघ २०, २०७४

बिर्तामोड।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको तेस्रो वार्षिक साधारणसभा आज शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्घाटन गर्दै मान्छेभित्रको असल भावना नै रेडक्रस भएको बताए । उनले निस्वार्थ सेवाभावले रेडक्रसमा जो पनि समर्पित हुन सक्ने बताएका छन् ।

रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीको अध्यक्षतामा भएको समारोहमा सचिव एकराज गिरीले उपशाखाको प्रगति र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष मनोज अग्रवालले आर्थिक वर्ष ०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।

उक्त अवसरमा बिर्तामोडमा सबैभन्दा बढी रगत संकलन गर्ने तीन उत्कृष्ट संस्थालाई सम्मान गरिएको छ । एक सय ५२ युनिट रगत संकलन गर्ने मारवाडी सेवा समिति बिर्तामोडलाई प्रदान गरिएको सम्मान सज्जनकुमार वंशलले ग्रहण गरेका थिए ।

त्यस्तै एक सय तीन युनिट रगत संकलन गर्ने नेप्लिज टिन्सको सम्मान अध्यक्ष मनिषजंग बस्नेत र एक सय एक युनिट रगत संकलन गर्ने न्यूटन्स एजुकेशन एकेडेमीको सम्मान विद्यालयका इञ्चार्ज देवेन्द्र हुमागाईले ग्रहण गरेका थिए । प्रमुख अतिथि ढकाल र सभापति शिवाकोटीले उक्त सम्मान प्रदान गरेका थिए ।

बिर्तामोड उपशाखा अन्तर्गत बितेको साढे दश महिनामा दुई हजार तीन सय ६० युनिट रगत संकलन भएको छ । बिर्तामोड उपशाखा अन्तर्गत २७ जना यसस्कर, ४९ जना विशिष्ट र पाँच सय ५२ जना रेडक्रसका आजीवन सदस्य छन् ।

साधारणसभा उद्घाटन समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल र साई सेवा समिति अनारमनीकी उमा शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
उपशाखा उपसभापति निर्मल भट्टराईले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर