सुरुङ्गा।
फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले कच्चा पदार्थको अभाव, दक्ष कामदारको अभाव र राज्यको असहयोगका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी बन्दै गएको आरोप लगाएका छन् ।
संघले झापाको कनकाईस्थित भुरुङ्गामा शनिवार आयोजना गरेको चौथो साधारणसभामा उपस्थित फर्निचर तथा फर्निसिङ व्यवसायीहरुले राज्यको उदासीनताका कारण फर्निचर उद्योगहरु बन्द हुने अवस्थामा रहेको बताएका हुन् ।
व्यवसायीहरुले कच्चा पदार्थको चरम अभाव झेल्नु परेको उनीहरुको गुनासो छ । उनीहरुले नम्बरी आवादीमा रहेको आँप, कटहर, कदम, टिक, मसाला, सिसौ जस्ता कुकाठ स्थानीय सरकारको सिफारिसमा बिना झञ्झट उद्योगसम्म पुर्याई उद्योग सञ्चालनमा सहयोग गर्न माग गरेका छन् । बर्षाैंदेखि बन्द रहेको पुराना काठ ओसारपसारलाई फुकुवा गराउन, कुहिएर गइरहेका काठहरुको सहज रुपमा जिल्ला भित्र सम्बन्धित निकाय र स्थानीय तहको सिफारिसमा फर्निचर उद्योगहरुलाई उपलब्ध गराए बन्द हुने अवस्थामा रहेका उद्योगहरु सञ्चालनमा आउने फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाका अध्यक्ष टेकबहादुर खजुमले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
फर्निचर व्यवसायको दिगो विकास र दक्ष जनशक्ति उत्पादनका लागि एक तालिक केन्द्रको स्थापना गर्न संघले सरकार समक्ष माग गरेको छ । झापामा ८ सय ५० वटा फर्निचर उद्योग सञ्चालनमा रहेको र हजारांैको संख्यामा युवाहरुलाई रोजगारी दिँदै आएको प्रतिवेदनमा छ ।
सोही अवसरमा संघले सफल व्यवसायीका रुपमा झापाका तीनजना व्यवसायीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बिर्तामोडको खगेन्द्र काष्ठ फर्निचरका प्रोप्राइटर खगेन्द्र खरेल, भद्रपुरको हिमाल फर्निचरका प्रोप्राइटर हिमाल ओली र दमकको एभरेष्ट फर्निचरका रोहित आचार्यलाई सम्मान गरिएको हो ।
सम्मानित खरेललाई उत्कृष्ट फर्निचर व्यवसायीको रुपमा सम्मान गरिएको हो । प्रदेशसभा सदस्य एकराज कार्की र संघका अध्यक्ष टेकबहादुर खजुमले खरेललाई सम्मान पत्र प्रदान गरेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेका उनी दुई दशकदेखि फर्निचर व्यवसायमा आवद्ध छन् । उनी हनुमन्त पोली इण्डष्ट्रिज खनारका सञ्चालक समेत हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १का सांसद एकराज कार्की, संघका अध्यक्ष खजुम लगायतले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
त्यसैगरी संघले नौजना संस्थापक सदस्यलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा भगिरथ लुइँटेल, मुक्ति न्यौपाने, रामप्रित शर्मा, श्रीप्रसाद सिटौला, श्रीकुमार शर्मा, ओमभक्त प्रसाई, देवकुमार पोखरेल, सन्तोष श्रेष्ठ र बिष्णु थापा रहेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष ओमभक्त प्रसाईले स्वागत गरेको कार्यक्रममा व्यवसायी गंगा प्रसाई, उदय भण्डारी, बिर्तामोड–३का वडाअध्यक्ष भोजराज सिटौला, पूर्व सभासद् विश्वदीप लिङ्देन, तिलक गिरी, शिव ढुङ्गेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन चन्द्रप्रसाद गिरीले गरेका थिए ।